गुटभन्दा माथि उठेर असल व्यक्ति चयन गरौँ : खतिवडा, माओवादीका नेताहरू कांग्रेसमा प्रवेश

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले महाधिवेशनमा दुई वटा गुटमा लागेर व्यक्तिगत स्वार्थमा भन्दा पनि सक्षम र असल नेतृत्वलाई जिताउन आग्रह गरेका छन् ।

ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिकाको पारामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले आफ्नोलाई भन्दा पनि राम्रो नेतालाई चयन गर्न सुझाव दिए । उनले भने, ‘दुई वटा गुटमा लागेर होइन । सक्षम र राम्रो नेतृत्वलाई निर्वाचित गर्न सकौँ ।’

खतिवडाले शुक्रबारदेखि वडा अधिवेशनहरू शुरु हुन लागेको भन्दै अधिवेशनलाई भव्य रुपमा आपसी मनमुटाव र तिक्तताहरू भुलेर नेतृत्व चयन गर्न आग्रह गरे ।

उनले कांग्रेसलाई ओखलढुंगाका जनताले जिताउँदा सडकदेखि राम्रा र ठूला विकासका कार्यक्रम भएको बताए । ‘बलबहादुर राईलाई अत्याधिक मतले विजयी बनाएर पठाउनुभयो । त्यसको प्रतिफल कटारी–ओखलढुंगा सडक पायौँ’, उनले भने, ‘२०७० सालमा मलाई निर्वाचित गर्नुभयो । मैले सुनकोशीको पुल निर्माण गरेँ ।’

उनले भने, ‘मेलुङ एकवारको बाटोको शुभाराम्भ गरियो । जितेका सांसद आउँदैनन् । तर, म जिते पनि हारे पनि तपाईहरूका बीचमा आउने गरेको छु ।’

नेता खतिवडाले भने, ‘कांग्रेसको मायाले यहाँका कम्युनिस्टलाई तान्यो । आजदेखि पारा कम्युनिस्ट मुक्त भएको छ ।’

‘भूकम्पमा खाद्यान्न दियौँ । कोरोनाका बेला स्वास्थ्य सामग्री बाँड्यौँ । मर्न लागेकालाई औषधि गरेर हामीले बचायौँ’, उनले भने, ‘हामी कम्युनिस्टले मार्न खोजेका मान्छेलाई बचाउँदै गयौँ । बचाउने कांग्रेस राम्रो कि ? मार्ने कम्युनिस्ट राम्रो ?’

नेता खतिवडाले कम्युनिस्टले निर्वाचनका बेला आफूले जितेपछि देशलाई कोल्टे फेर्ने बनाउँछौँ भनेको उल्लेख गर्दै साढे तीन वर्षमा कम्युनिस्टहरू असफल भएर देशलाई उत्तानो पारेको टिप्पणी गरेका छन् ।

‘त्यही कारण कम्युनिस्ट छाडेर कांग्रेसमा प्रवेश गरेका छन्’, उनले भने, ‘स्कुल, खानेपानी, सडक बनायौँ । कांग्रेसले जे बोल्छौँ त्यही गर्छौं । कांग्रेसले कसलाई धोका दिँदैन ।’

यसैबीच, पारामा माओवादी परित्याग गरेर चन्द्र दराई, हेमकुमार तामाङसहितका स्थानीय लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई कांग्रेस नेता खतिवडाले स्वागत गरेका थिए ।

कार्यक्रममा कांग्रेस नेताहरू रुद्र अधिकारी, कमल तामाङ, भोजकुमार श्रेष्ठ, कुमार श्रेष्ठ, दुर्गाकुमारी तामाङ, हुमबहादुर बिक, भीम गौतम, विष्णु मगर, कुमार मगरलगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 September 2, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया