दाङ घर भएका ओली परराष्ट्रतर्फ सह–सचिवमा बढुवा, श्रेष्ठ सचिव बने

काठमाडौं । सरकारले सह–सचिव राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढुवा समितिले गरेको तीन जनाको नामबाट श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको जानकारी दिएका छन् ।

सचिवमा बढुवा भएका श्रेष्ठ निर्वाचन आयोगमा प्रवक्ताको जिम्मेवारीमा समेत थिए ।

सचिवमा बढुवाका लागि बढुवा सिफारिस समितिले श्रेष्ठसहित रविलाल पन्थ र रामेश्वर दंगाललाई सिफारिस गरेको थियो ।

सरकारले उप–सचिवद्वय कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई परराष्ट्रतर्फको सह–सचिवमा बढुवा गरेको छ । सह–सचिवमा बढुवा भएका ओली दाङ जिल्ला निवासी हुन् ।

सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा कास्कीका विश्वमोहन अधिकारीलाई नियुक्त गरेको छ ।

साउनदेखि सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाउने बजेट भाषणमा गरिएको घोषणा कार्यान्वयन गर्ने समेत बैठकले निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

सरकारले चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । हुम्ला जिल्लाका विभिन्न ठाउँमा देखिएका सीमा विवादबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने गरेको सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले जानकारी दिएका छन् ।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवादको अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउनका लागि गृह मन्त्रालयका सह–सचिवको नेतृत्वमा छानबिन समिति गठन गरिने मन्त्री कार्कीले बताए ।

छानबिन समितिमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारी र सीमाविदहरूलाई समावेश गरिने पनि मन्त्री कार्कीले जानकारी दिएका छन् ।

Published : Wednesday, 2021 September 1, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया