भट्टराईद्वारा एनआरएनएको प्रशंसा, कांग्रेसकै नीतिले विश्वभरि नेपालीहरू छरिन पाए
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले कांग्रेसको नीतिका कारण नेपालीहरू संसारभरि छरिएर रहेको बताएका छन् ।
विभागले शनिबार जुममार्फत आयोजना गरेको गैह्र आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदको अध्यक्षसहित विभिन्न पदमा निर्वाचितहरूको स्वागत तथा बधाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख भट्टराईले पञ्चायती व्यवस्था रहेको भए नेपालीहरू संसारभरि छरिएर बस्ने पाउने अवस्था रहने थिएन भनेका छन् ।
‘कांग्रेसको नीतिले गर्दा संसारभरि छरिएर रहेका साथीहरूले व्यवसाय गर्नु पाउनुभएको छ । रोजगारी पाउनुभएको छ । विद्यार्थी पढ्न जानुभएको छ । त्यो अवसर पाएका छौं’, उनले भने, ‘यो उपलब्धी प्रजातन्त्रको हो । पञ्चायत रहेको भए संसारभरि पहुँच हुने थिएन । कांग्रेसको नीतिले काम गरेको छ ।’
विभिन्न देशहरूमा रहेका कुटनीतिक नियोगहरूले काम गरेको भए पनि एनआरएनएको भूमिका विशेष रहेको प्रमुख भट्टराईले बताएका छन् । उनले एनआरएनएमा आवद्ध सदस्यहरूले नेपालमा विपत्त हुँदा सहयोग गर्ने गरेको भन्दै प्रशंसा गरेका छन् ।
‘एनआरएनका साथीहरूले नेपालका लागि काम गर्नुभएको छ । एनआरएनए नेपालमा दुःखको साथ बनेको छ’, भट्टराईले भने, ‘सहयोग गर्ने, भूकम्पले भत्किएका घर बनाइदिने, बाढीपीडितलाई सहयोग गर्ने, कोरोनाका बेला अक्सिजन सिलिण्डर र औषधि दिनु भएको छ ।’
कांग्रेस नेता भट्टराईले एनआरएनएलाई बलियो बनाउनुपर्ने बताए । ‘एनआरएनएभित्र कमजोरी छभने सुधार गरौँ । साझा संस्था बनाऔँ’, उनले भनेका छन् ।
राजनीतिक दलहरूकै कारण एनआरएनए जन्मिएको भन्दै विभागका प्रमुख भट्टराईले भने, ‘राजनीतिक दलले सरकार बनाउने हो । दलको नीति अनुसार नै एनआरएनएसहित हजारौँ संस्था जन्मिएका छन् ।’
‘राजनीति बाहेकको दुनियाँ कसरी कल्पना गर्न सकिएला र ? हाम्रो पार्टीको सदस्य एनआरएनएमा छैन । सदस्य भए पनि एनआरएनएमा गएपछि स्वतन्त्र बन्नुपर्छ’, उनले भने, ‘एनआरएनए पनि राजनीतिको उपलब्धि हो । उत्तर कोरियामा भएको भए यसरी कुरा हुन सक्ने थिएन ।’
उनले एनआरएनए कांग्रेसको सरकार भएका बेला स्थापना भएको स्मरण गरेका छन् । कांग्रेस नेता भट्टराईले निर्वाचित अध्यक्षसहितका पदाधिकारी र सदस्यहरूलाई बधाइ दिएका छन् ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले एनआरएनएलाई साझा संस्था रहेको बताए । उनले कांग्रेसको सरकार भएका बेला बनेको संस्थालाई अहिलेको सरकारले पनि सहयोग गरेको बताएका छन् ।
कार्यक्रममा एनआरएनएका महेश थपलियाले स्वागत भाषण गरेका थिए । जुम मिटिङमा जितेकालाई बधाइ दिइएको थियो ।
महासचिव हेमराज भट्ट, कुल आचार्य, रविना थापा, डा.केशव पौडेल, दिल गुरुङ, नारायण आचार्य, गंगाधर गौतमलगायतको करीव ५० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया