फुटेका कम्युनिस्ट जोड्ने ठेक्का यस कारण देउवा र कांग्रेसको होइन, ओलीलाई बचाउन भण्डारीको हर्कत

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेसँगै समर्थन र विरोधमा आवाजहरू उठेका छन् ।

अध्यादेशको कांग्रेसकै नेताहरूले विरोध जनाएका छन् । शेखर कोइराला, प्रदीप पौडेल, धनराज गुरुङसहितका केही सेलिब्रेटीहरूले अध्यादेशको विरोध गरेका छन् । उनीहरू लोकतन्त्रका नाममा कम्युनिस्टलाई एक बनाएर राख्न चाहेका छन् । उनीहरूले कम्युनिस्ट फुट्न हुँदैन भनेर बचाउ गरिरहेका छन् ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई कसरी कमजोर बनाउन सकिन्छ भनेर बाटो ढुकेर बसेका शेखर कोइरालाहरूले अध्यादेश जारी नहुँदै विरोध गरेका छन् ।

उनीहरूले अध्यादेश रोकेर राख्ने एमालेकी पूर्व उपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गरेका छैनन् । अध्यादेश राम्रो छ वा छैन त्यो पछिको कुरा हो ।

तर, अध्यादेश रोकेर राख्ने राष्ट्रपतिको कमदको विरोध नगरेर आफ्नै पार्टीको सरकारको विरोध गर्ने कांग्रेस नेताहरूको गतिविधि हेर्न लायकको छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली र उनको समूहले अध्यादेशको विरोध गर्नु स्वभाविक नै हो । ओलीका समर्थकहरू मंगलबार सडकमा उत्रिएर विरोध गरेका छन् । युवा संघ नेपालले राजधानीमा सडक प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगा समेत बर्साएको छ ।

अध्यादेश ल्याउने वातावरण ओलीले सिर्जना गरेका हुन् । झण्डै दुईतिहाइको बहुमत पाएका ओलीले आफ्नो पार्टी पनि बचाउन सकेनन् । साढे तीन वर्षभित्र सत्ताच्युत हुनु परेको छ । ओलीको हातबाट सत्ता त फुत्कियो नै । पार्टी पनि विभाजन हुने भएको छ ।

एमालेभित्रका आफ्ना विरोधीहरूलाई ठेगान लगाउँदै भित्तासम्म पु¥याएका छन् । राजनीति असुरक्षित भएपछि कांग्रेसको सहारामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले टाउको उठाउने प्रयास गरिरहेको थियो । ओलीले नेपाल समूहलाई भित्तामा पु¥याइदिएका छन् ।

एक वर्ष अगाडि नै ओलीले जनता लकडाउनमा घरभित्र थुनिएर बसेका बेला राजनीतिक दल विभाजनको अध्यादेश ल्याएका थिए । ओलीले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गरेकी थिइन् । भण्डारीले अहिले कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेश रोकेर राखेकी छिन् ।

उनले अध्यादेशमा परामर्श गर्ने भनेकी छिन् । भण्डारी राष्ट्रपतिको भूमिकामा भन्दा पनि एमालेको उपाध्यक्षको हैसियतमा काम गरेको भनेर आलोचना भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएर राम्रो वा नराम्रो जे गरे पनि त्यो दोषको भागिदार आफै हुनेछन् । तर, भण्डारीले अध्यादेश रोकेर राखेर ठूलो बदमासी गरेकी छिन् । उनले अध्यादेश तत्काल जारी गर्नुपर्छ । हाइन भने बाटो छाडिदिनुपर्छ ।

अध्यादेशको जनता समाजवादी पार्टी, नेपाल (जसपा)को महन्थ ठाकुर समूहले स्वागत गरेको छ । एमालेका वरिष्ठ नेता नेपाल समूहले पनि स्वागत गरेको छ ।

राजनीतिक स्थिरताको नाममा झण्डै दुईतिहाइ बहुमत पाएका ओली नै अहिलेको राजनीतिक स्थिरता निम्ताउने प्रमुख कारक हुन् । यसको दोष कांग्रेसले किन लिने ? पहिलो पटक प्रतिनिधि सभालाई ओली र भण्डारीले विघटन गरेका बेला देउवाले निर्वाचनमा जानुपर्ने अडान राखेका थिए ।

शेखर कोइराला, रामचन्द्र पौडेलहरूले संसद खोजे । दोस्रो पटक प्रतिनिधि सभा विघटन हुँदा पनि यो समूहले संसदन नै खोज्यो । देउवा प्रधानमन्त्री बन्न खोजेका थिएनन् । ओली बाहेक सबै मिलेर देउवालाई प्रधानमन्त्री बनाए ।

देउवाले आफूलाई प्रधानमन्त्री बनाएको र सत्ता गठबन्धनको स्वार्थअनुसारको निर्णय गर्नु स्वभाविक थियो । देउवाको बचाउन गर्ने बेला आफ्नै पार्टीभित्रबाट विरोध भएपछि कांग्रेसका नेताहरू विदेशीको निर्देशनमा काम गर्छन् कि भन्ने आशंका भएको छ ।

Published : Tuesday, 2021 August 17, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया