बेलबारीकी उप–प्रमुख पराजुलीले बोलिन् बास्तविक कुरा
विराटनगर । मोरङ जिल्लास्थित बेलबारी नगरपालिकाकी उप–प्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाद्वारा वितरण गरिएको बोका र पाठी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जनाएकी छिन् ।
रिपब्लिका दैनिकसँग शुक्रबार कुरा गर्दै उप–प्रमुख पराजुलीले बोका र पाठी प्रकरणमा आफ्नो संलग्नता रहेको भनेर आएको समाचारप्रति आपत्ति जनाइन् । उनले समाचारबाट आफ्नो इज्जत र प्रतिष्ठामा ठूलो धक्का लागेको बताएकी छिन् ।
‘बोका र पाठी प्रकरणमा मेरो कुनै संलग्नता छैन’, उनले भनेकी छिन्, ‘समाचारमा मेरोविरुद्ध आएका कुराहरू सबै झुठ्ठा हुन् । कुन सत्यता छैन । बोका र पाठी प्रकरणमा जोडिएर आएका कुराले ठूलो आघात पुगेको छ ।’
नगरपालिकाले बोका र पाठी खरिदका लागि ठेक्का निकाल्न गरेको निर्णयबारे जानकारी रहे पनि त्यसपछिका सबै प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाइ छ ।
उप–प्रमुख पराजुलीले बोका र पाठी खरिदको आन्तरिक कुराहरूमा आफूलाई जानकारी नै नरहेको दोहोर्याइन् । उनले भनेकी छिन्, ‘म जनताको प्रतिनिधि हुँ । नगरपालिकाभित्र हुने गलत कुरालाई गलत र राम्रो कुरालाई राम्रो भन्ने आँट राख्छु ।’
पराजुलीले बोका र पाठी वितरणका बेला पनि आफू कामको सिलसिलामा बाहिर रहेको बताएकी छिन् । ‘बोका र पाठी वितरण गर्ने बेला म बाहिर थिएँ’, उनले भनेकी छिन्, ‘सञ्चारमध्यमहरूमा समाचार आएपछि बोका र पाठी नगरपालिकाले वितरण गरेको थाहा पाएँकी हुँ ।’
‘नगरपालिकाको एउटा प्रक्रिया हुन्छ । त्यो प्रक्रियामा म संलग्न छैन’, उनले भनेकी छिन्, ‘मेरो गल्ती छ भने जस्तो सुकै सजाय भोग्न तयार छु । तर, नभएको आक्षेप लाग्दा ठूलो तनाब भएको छ ।’
बेलबारी नगरपालिकाले खरिद गरेको बोका र पाठी प्रकरणको अनियमितता र भ्रष्टाचारमा नाम मुछिएपछि उप–प्रमुख पराजुलीले समाचारको खण्डन गर्दै आफ्नो कुनै संलग्नता नरहेको बताएकी हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया