सौराहसहित चितवनका विभिन्न स्थानमा डुबान (तस्बिर)

राजेन्द्र आचार्य

भरतपुर । कोरोना महामारीका कारण धरासायी अवस्थामा पुगेको चितवनको सौराहलाई बाढीले तनाब दिएको छ ।

अविरल वर्षासँगै राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासको क्षेत्र जोखिममा परेको छ । राप्ती, बुढी राप्ती, ढुँग्रे लगायतका नदी तथा खोलामा पानीको सहतह बढ्दा सौराहामा जोखिम बढेको स्थानीय व्यापारीहरूले बताएका छन् ।

पर्यटकीय नगरी सौरहा क्षेत्रमा पनि बाढी पस्न थालेको क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले जानकारी दिएका छन् ।

व्यवसायीले सुरक्षित स्थानमा सामान स्थान्तरण गर्न शुरु गरिसकेका छन् । उद्धार कार्यको लागि डुङ्गा तयारी अवस्थामा राखिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

यता, लदरी खोलाको पुल भत्किएको छ । बाढीका कारण खैरहनी नगरपालिका–२ मा रहेको पुल भत्किएको हो । सो क्षेत्रमा खोला बस्तीमा पस्दा घरघरमा बाढीको पानी पसेको स्थानीयले जनाएका छ ।

रत्ननगरपालिका– ८ बाघमारास्थितमा रहेको सुकुम्बासी बस्ती डुबानमा परेको छ ।

बुढी राप्ती खोला पस्दा सुकुम्बासी बस्तीका २० घर डुबानमा परेको ईलाका प्रहरी कार्यालय रत्ननगरका डीएसपी ईन्द्र रानाले जानकारी दिए ।

रत्ननगर– १६ स्थित कयर खोलामा आएको बाढीमा बगेको स्कुटर र महिलाको उद्धार गरिएको छ । कयर खोलाको बहावसँगै बगेकी ती महिलाको उद्धार गरिएको डीएसपी रानाले बताए ।

राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाको विभिन्न स्थान डुबानमा परेको प्रमुख जिल्ला अधिकारी प्रेमालाल लामिछानेले जानकारी दिए ।

Published : Thursday, 2021 July 1, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया