कांग्रेसद्वारा माओवादी निकट अध्यक्ष र महासचिवलाई कारबाही, ‘रेणु काण्ड’ मच्चाउन प्रचण्डका मान्छे सक्रिय

काठमाडौं । सामुदायिक रेडियो सञ्चालकहरूको साझा संस्था ‘सामुदायिक रेडियो प्रशारक संघ, नेपाल’का अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटा निलम्बनमा परेका छन् ।

नेकपा (माओवादी) केन्द्र निकटका अध्यक्ष खतिवडा र महासचिव देवकोटालाई संघका कार्यबाहक अध्यक्ष अर्जुन गिरीले निलम्बन गरेर स्पष्टीकरण सोधेका छन् । कार्यकाबाह अध्यक्ष गिरी नेपाली कांग्रेस निकटका हुन् । अध्यक्ष खतिवडा र महासचिव देवकोटाको कार्यलाई रेडियो सञ्चालकहरूले रुचाएका छैनन् ।

संघको ७औँ अधिवेशन र १५औँ साधारण सभाको पूर्वसन्ध्यामा अध्यक्ष र महासचिवले भाँडभैलो मच्चाउने हर्कत गरेपछि कार्यबाहक अध्यक्ष गिरीले कारबाहीको डण्डा चलाएका हुन् ।

अध्यक्ष खतिवडा र महासचिव देवकोटालाई कारबाही गरेपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म कुरा पु¥याएका छन् ।

संघमा नेपाली कांग्रेस र नेकपा (एमाले) निकटका रेडियो सञ्चालकहरू मिलेर प्रतिस्पर्धा गर्दै छन् । संघमा पत्तासाफ हुने भएपछि माओवादीहरूले भाँडभैलो मच्चाएको आरोप छ ।

संघको चुनावमा कांग्रेसको तर्फबाट गिरीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको थियो । संघमा कांग्रेसले जित्ने अवस्था देखेपछि कम्युनिस्ट निकटका अध्यक्ष खतिवडा र महासचिव देवकोटाले निर्वाचन कार्यक्रम बिथोल्न हर्कत गरेको आरोप छ ।

‘फागुन २५ गते काठमाडौंमा तय गरिएको ७औँ अधिवेशन तथा १५औँ साधारणसभाको पूर्वसन्ध्यामा आएर कार्यसमिति र सचिवालय पदाधिकारीहरूलाई समेत कुनै सूचना नदिइ देशभरिका प्रतिनिधिहरू काठमाडौंमा जम्मा भैसकेको अवस्थामा फागुन २४ गते राति ११ बजेर २७ मिनेटमा तपाई दुईजनाले एकलौटी निर्णय गरेर साधारणसभा र निर्वाचनका सबै कार्यक्रम स्थगित गरेकोमा संघका अध्यक्ष तपाई सुवास खतिवडा र महासचिव गोविन्द देवकोटालाई निलम्बन गरि स्पष्टीकरण सोधिएकोमा २४ घण्टाभित्र स्पष्टीकरण दिनु हुनको लागि निर्देशन गर्दछौँ’, कार्यबाहक अध्यक्ष गिरीले सोधिएको स्पष्टीकरणमा भनिएको छ ।

‘सामुदायिक रेडियो प्रसारक संघको मिति २०७७ फागुन २५ गते साधारणसभा स्थलमा बसेको कार्यसमितिको बैठकले अन्तिम अवस्थामा आएर तपाईहरूले संस्थालाई संकटमा पार्नुभएको ठहर गर्दै निलम्बन गरि स्पष्टीकरण सोधिएको हो’, पत्रमा भनिएको छ ।

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी रेणु दाहाललाई जिताउन मत पत्र च्यातेकै झल्को दिने गरेर संघका अध्यक्ष खतिवडा र महासचिव देवकोटाले हर्कत गरेपछि कांग्रेस र एमाले मिलेर त्यसको प्रतिवाद गरेका छन् ।

Published : Tuesday, 2021 March 9, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया