राष्ट्रपति भण्डारीले विवेक गुमाउँदा देश बर्बाद भयोः कांग्रेस नेतृ प्रसाइँ

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाइँले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेक गुमाउँदा देशको अवस्था अफ्ठ्यारो स्थितिमा पुगेको बताएकी छिन् ।

गृहजिल्ला झापामा नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै नेतृ प्रसाइँले महिलाले विवेक गुमाउन नहुने बताएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गरेर उनले महिलाले सुझवुझका साथ निर्णय गर्नुपर्ने बताएकी छिन् ।

‘महिलाहरूले पनि निर्णय गर्दा विवेक पुर्‍याउनुपर्ने रहेछ भन्ने कुरा अहिले राष्ट्रपतिको निर्णयबाट हामीले देखेका छौँ’, उनले भनेकी छिन् ।

‘संसदमा कम्युनिस्टको सत्ता छ । सरकार छ । कुन पार्टीको हो नामै थाहा छैन’, प्रसाइँले भनेकी छिन्, ‘नामै नभएको सरकार छ । हालत त्यस्तो बनाइदिएको छ ।’

‘महिला भनेपछि विवेक, वुद्धि हुनुपर्छ, धैर्य हुनुपर्छ । संयम हुनुपर्छ’, उनले भनेकी छिन्, ‘सुझवुझका साथ राजनीति गर्नुपर्छ । देशको वस्तुस्थिति एकदमै अफ्ठ्यारो अवस्थामा छ ।’

‘हिजो संसदमा प्रधानमन्त्रीजी बैठक शुरु हुनुभन्दा अगाडि नै हिड्नुभयो । किन भने उहाँ कुन दलको प्रधानमन्त्री हो ओलीलाई थाहै थिएन’, कांग्रेस नेतृ प्रसाइँले भनेकी छिन्, ‘त्यहाँ बोल्नुपर्ने कसरी उत्तर दिने ?’

महिलाको सुरक्षा यो सरकार गर्न नसक्ने नेतृ प्रसाइँले भनेकी छिन् । ‘आफ्नो पार्टीको नाम त सुरक्षित गर्न सकेन । हाम्रो सुरक्षा यो सरकारले गर्न सक्छ ?’, उनले भनेकी छिन् ।

‘महिलाले छोरा र छोरीलाई समान रुपमा पढाउनुस् । सत्तपत्ति दाइजोमा दिएर के गर्ने । त्यो सकिन्छ । पढाउनुभयो भने त्यो महिला कहिल्यै पनि कमजोर हुँदैन’, प्रसाइँले भनेकी छिन्, ‘आफूले बुहारी पढेलेखेको खोज्ने । आफूले पनि छोरीलाई पढाएर सु–सूचित बनाउनुपर्छ ।’

कार्यक्रममा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटैला, केन्द्रीय सदस्य सुधिर सिवाकोटी, पूर्वसांसद उषा गुरुङ, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा लगायतका नेता र नेतृहरूको उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 March 8, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया