कांग्रेसलाई विन्तीपत्र हाल्ने बिचौलिया कम्युनिस्टलाई पाल्न जरुरी छैनः मोहनबहादुर बस्नेत

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिस्टहरूलाई ‘बिचौलिया’को संज्ञा दिएका छन् ।

महिला दिवसका अवसरमा नेपाल महिला संघ सिन्धुपाल्चोक क्षेत्र नं. १ ले बाह्रबिसेमा सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले बिचौलिया कम्युनिस्टहरूलाई भोट हाल्नुभन्दा कांग्रेसलाई भोट दिएर जिताउन आग्रह गरेका छन् । कम्युनिस्टले झण्ड दुईतिहाइ बहुमत पाउँदा पनि सरकार चलाउन नसकेर कांग्रेसलाई सरकार चलाइदेउ भनेर विन्तीपत्र हाल्न गएको उनले बताए ।

‘दुईतिहाइको बहुमत हुँदा कम्युनिस्टले प्रतिनिधि सभा भङ्ग गरेका छन् । संसदफेरि पुनःस्थापित भयो’, उनले भने, ‘पुनःस्थापित भएपछि प्रचण्ड र माधवजीले लड्डु खाए । फेरि अहिले सर्वोच्च अदालतले नेकपा उडाइदियो ।’

कांग्रेसको खेलकुद विभागका प्रमुख समेत रहेका नेता बस्नेतले भनेका छन्, ‘विकास र नारीहरूको अधिकारका लागि जनताले भोट हालेर कम्युनिस्टलाई सत्तामा पुर्‍याउँदा पनि कांग्रेसलाई कहाँ खोज्न जानुपर्ने हो भन्ने कम्युनिस्टहरू अहिले शेरबहादुर देउवालाई भेटेर लौन तपाई प्रधानमन्त्री बनेर देश चलाइदिनुस् भन्न गएका छन् ।’

‘जनताले थाहा पाउनुपर्‍यो । जसलाई भोट हालेर पठायौँ । ती नेताहरूले कांग्रेसलाई गएर सरकार चलाइदिनुपर्‍यो भनेपछि जनताले अब भोट कम्युनिस्टलाई हाल्ने कि कांग्रेसलाई हाल्ने ? कांग्रेसलाई सिधै भोट हाले भइहाल्यो नि’, उनले भने, ‘बिचौलिया किन पाल्ने ? कम्युनिस्टलाई भोट हालेका देशभरिका लाखौँ जनता कांग्रेसलाई भोट हाल्न आतुर भएर बसेका छन् ।’

नेता बस्नेतले कांग्रेसमा सुधारको आवश्यक्ता रहेको बताएका छन् । ‘कांग्रेस पनि सुध्रिन जरुरी छ । कांग्रेसले पनि ढंग पुर्‍याउन जरुरी छ’, उनले भने, ‘हाम्रा साथीभाइ अघिपछि काठमाडौंमा बस्ने । चुनाव आयो भने गाउँमा जाने । यसरी परिवर्तन सम्भव छैन ।’

कांग्रेस नेता बस्नेतले कम्युनिस्टहरूको झगडाले गर्दा छिटै निर्वाचन हुने बताएका छन् । ‘यो देशमा चाँडै चुनाव हुँदैछ । दुई वर्ष टिकाउने अवस्था देखिएन’, उनले भने, ‘कांग्रेस सरकारमा नजाने भनेर बसेको छ । कम्युनिस्टले देश चल्न सकेन भने कांग्रेसले नेतृत्व गरेर चुनावमा जानुपर्ने स्थिति आउन सक्छ । तर, कांग्रेस सरकारमा जान हतारमा छैन ।’

कांग्रेस नेता बस्नेतले भनेका छन्, ‘कम्युनिस्टले केन्द्र, प्रदेश र स्थानीय सरकारमा जितेका छन् । अग्नि सापकोटाजी तपाईलाई लाज लाग्नुपर्ने हो । तपाई सभामुख बन्नुभएको छ । संसद स्थगित भएको पनि सभामुखलाई थाहै हुँदैन । त्यस्तो सभामुख हो तपाई । तपाईले संसद कोषको पैसा बाहेक तीन वर्षभित्रमा यो ठाउँमा एकसुक्का पैसा ल्याउन सक्नुभएको छैन । यो विषयमा कोही कमरेडहरू बोलुन् । हामी राजनीति गर्दैनौँ ।’

नेता बस्नेतले कम्युनिस्टले जितेको ठाउँमा खानेपानी, सडक, पुल, स्कुल कांग्रेसले बनाइदिनुपर्ने अवस्था आएको समेत बताए ।

उनले कम्युनिस्टले जितेका देशहरूमा महिलाहरू ठूलो पदमा जान नसकेको बताएका छन् । ‘नेपालमा महिलाहरू ठूलो पदमा गएका छन् । विद्यादेवी भण्डारी राष्ट्रपति बन्नुभयो’, उनले भने ।

‘विद्यादेवी भण्डारीजी मदन भण्डारीको हत्यारा को हो भनेर महिलाहरूले चिन्न चाहन्छन् । पार्टीबाट मन्त्री र राष्ट्रपति बन्नुभयो । महिला विधेयक आउँदा पोको पारेर राख्नुभयो’, बस्नेतले भने, ‘चितवनमा तरुण दलका शिव पौडेलका हत्यारालाई राष्ट्रपतिले माफी दिनुभयो । विनु पौडेल रुँदै हुनुहुन्छ । विनु पौडेलका हत्यारालाई छाड्नुभयो । विनुको आँशुले पाप लाग्नेछ ।’

उनले कांग्रेसले जनताको सेवा गर्ने भन्दै जहाँ विपत्ति पर्छ त्यहाँ कांग्रेस पुगेको हुन्छ भनेका छन् । ‘जहाँ जनतालाई अफ्ठ्यारो परेको हुन्छ त्यहाँ कांग्रेस पुगेको हुन्छ’, उनले भनेका छन् ।

‘कम्युनिस्ट सरकार हुँदा सरकारी पैसाबाट विदेशबाट ल्याएको सामान किन्दा भ्रष्टाचार भयो’, उनले भने, ‘कांग्रेसका नेता कार्यकर्ताहरू मिलेर करोडौँको सामान जनताको लागि जिल्लामा बाँडेर मात्र होइन बाहिर जिल्लामा पनि केएन ९५ मास्क बाँडेका छौँ ।’

‘बाढीपहिरो जाँदा हाम्रा साथीभाइले ग्यासका सिलिण्डर बोकेर घरघरमा गएर दिनुभएको छ । चामलका बोरा बोकेर हिँडेका छन्’, बस्नेतले भने, ‘सरकारका मान्छेहरू नपुग्दा हामीले हेलिकप्टर रिर्जभ गरेर बाढीपहिरो जनताको घरघरमा सामान पुर्‍याएका छौँ । उद्धार गरेका छौँ । सडक भत्किएर जान नसक्दा मकैका फाँडेर हेलिकप्टरबाट उद्धार गरेर सरकारी र निजी अस्पतालमा उपचार गरेका छौँ ।’

उनले भने, ‘कम्युनिस्टले महिला विकास र नारी अधिकारका कुरा धेरै गरे । विकासका कुरा धेरै गरे । काम गरेनन् ।’

सिन्धुपाल्चोकका छोरीहरूलाई काठमाडौंमा लगेर पढ्ने व्यवस्था गरेको कांग्रेस नेता बस्नेतले बताएका छन् । उनले आफ्नी श्रीमतीको एनजिओमार्फत पनि धेरै बालबालिकालाई छात्रवृत्ति दिएको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य विष्णुबिक्रम थापा, कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत नेपाल महिला संघ सिन्धुपाल्चोक क्षेत्रीय नम्बर १ की सभापति लक्ष्मी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 March 8, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया