भारतको सहयोगमा चन्द्रागिरी नगरपालिकाको विद्यालय पुनर्निर्माण

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भारतले आर्थिक सहयोग गरेको छ ।

शिक्षाको क्षेत्रमा भारत सरकारले प्रदान गरेको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण हुन लागेको यो ६८ औं विद्यालय रहेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेरु. ६ करोड ४९ लाखको लागतमा पुनर्निर्माण हुन लागेको यस विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुनेछ ।

शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने नयाँ संरचनामा तीन वटा ब्लकहरू हुनेछन् ।

विद्यालयमा १३ वटा कक्षा कोठा, परीक्षा हल, प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिका लागि कक्ष, प्रशासनिक कक्ष र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् ।

विद्यालयहरूको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ ।

२०७२ सालको भूकम्पले क्षति पु¥याएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण हेतु भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

निर्माण कार्य सुरु हुन लागेको यो ६८ औं विद्यालय हो र ८ वटा विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

काभ्रे जिल्लामा थप दुई विद्यालयको पुनर्निर्माणका लागि ठेक्का हस्तान्तरण भइसकेको अवस्था छ । यी विद्यालयहरूको निर्माण कार्य पनि छिट्टै अघि बढ्नेछ ।

Published : Monday, 2021 March 8, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया