कांग्रेस केन्द्रीय सदस्य गिरीका पिताको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीका पिताको निधन भएको छ ।

नेता गिरीका पिता ८३ वर्षीय लोकमणि गिरीको शनिबार दिउँसो दुई बजे दाङमा निधन भएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गिरीको तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । गिरी प्रजातन्त्र सेनानी समेत हुन् ।

विक्रम संवत १९९४ सालमा जन्मिएका स्व.गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । गिरीको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको सभापति शेरबहादुर देउवाले जनाएका छन् ।

शोक वक्तव्य जारी गरेर सभापति देउवाले गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले गिरीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् ।

देउवाले केन्द्रीय सदस्य गिरी लगायत सबै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् ।

यसैवीच, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पनि केन्द्रीय सदस्य गिरीका पिताको निधन भएकोमा दुःख व्यक्त गरेका छन् । खतिवडाले गिरी परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

Published : Saturday, 2021 March 6, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया