म प्रचण्ड–माधवतिरै छु, कसैको प्रलोभन र नियन्त्रणमा छैनः गंगा चौधरी

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले प्रधानमन्त्री केपी ओली समूहबाट भएको गलत प्रचार–प्रसारप्रति आपत्ति जनाएकी छिन् ।

सांसद चौधरीले चरित्र हत्या गर्ने गरेर समाचार आएको भन्दै आक्रोश पोखेकी छिन् । उनले आफू प्रचण्ड–माधव समूहको नेकपामा रहेको र रहिरहने बताएकी छिन् । उनले भनेकी छिन्, ‘आफ्नै पार्टीको दुईतिहाइ बहुमत हुँदाहुँदै प्रतिनिधि सभा भङ्ग गरेर राजनीतिक अस्थिरता मच्चाउनेहरूलाई मेरो साथ रहँदैन ।’

ओली निकट मानिने एउटा अनलाइनले आफूलाई प्रचण्ड–माधव समूहले बबरमहलको एउटा होटेलमा नियन्त्रणमा राखेको र पाँच करोडमा मोलमोलाइ गरेको भनेर आएको समाचारको चौधरीले खण्डन गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘म र सांसद लक्ष्मी चौधरीले एउटै फल्याटमा कोठाहरू सेयर गरेर सँगै बसेका छौँ । कसैले पनि लगेर होटेलमा राखेको छैन । सांसद पदको गरिमामाथि आँच आउने कुनै पनि कार्यहरू भएका छैनन् । मेराविरुद्ध गलत प्रचारहरू गरिएको छ ।’

ओली निकट मानिने सो अनलाइनले सांसद माया ज्ञवाली न्यौपाने, गंगा सत्गौवा चौधरी, चाँद तारा, लक्ष्मी चौधरी र सविना हुसेनलाई शुक्रवार प्रचण्ड–माधव समूहले निगरानीमा होटेलमा राखेको दाबीसहित समाचार सम्प्रेषण गरेको छ ।

ओली समूहले सांसदहरूलाई पाँच–पाँच करोड प्रलोभन प्रचण्ड–माधव समूहले दिएको र त्यसको नेतृत्व झपट रावलले गरेको भनेर गलत समाचार सम्प्रेषण गरेको छ ।

ओली समूहले प्रचण्ड–माधव समूहसँग कानूनी र राजनीतिक लडाइँ गर्न नसकेपछि साइबर सेनामार्फत फेक समाचारहरू लेखाएर सांसद र नेताहरूको मानमर्दन गर्न शुरु गरेको छ ।

प्रचण्ड–माधव समूहमा प्रतिनिधि सभाका ९६ जना सांसदले समर्थन जनाइसकेका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकमा ९६ सांसदले हस्ताक्षर गरेको दाबी प्रचण्ड–माधव समूहको छ ।

Published : Saturday, 2021 March 6, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया