प्रचण्ड–माधव ‘कमरेड’लाई तनाबै तनाब

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले दवाव दिँदैमा राजीनामा आउन सम्भावना निकै कम छ । संवैधानिक र कानूनी आधारमा ओली निकै बलियो देखिएका छन् ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेपाली कांग्रेसको समर्थन र साथ आवश्यक पर्छ । कांग्रेसले ओलीलाई हटाएर प्रचण्ड वा माधवलाई प्रधानमन्त्री बनाउन चाहेको छैन । प्रचण्ड वा माधवभन्दा कांग्रेसका लागि ओलीनै सबैभन्दा उपयुक्त पात्र हुन् ।

पार्टीभित्रको व्यक्तिगत झगडाका कारण नेकपाका नेताहरू सडकसम्म पुगेका छन् । पार्टी विभाजन गर्न दुबै समूह डराएका छन् । अहिलेसम्म निर्वाचन आयोगमा आधिकारिक रुपमा दल दावी गर्न गएका छैनन् । उनीहरूले आ–आफूलाई आधिकारिक भन्ने गरेका छन् ।

चाहे जे भएपनि कानूनअनुसार ओली बलियो छन् । नेकपाको दस्तावेजहरूमा ओलीको हस्ताक्षर छन् । प्रचण्डलाई नेकपाको अध्यक्षका रुपमा निर्वाचन आयोगमा पुगेका दस्तावेजहरूले अध्यक्षका रुपमा चिन्दैन ।

प्रचण्डलाई सह–अध्यक्षका रुपमा निर्वाचन आयोगले चिनेको छ । महासचिव पनि ओलीसँग छन् ।
त्यति मात्रै होइन प्रचण्ड–माधव समूहलाई संसद सचिवालयले पनि चिनेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले प्रचण्ड–माधव समूहलाई साथ दिए पनि कानून र संविधानअनुसार ओली समूहलाई नै मान्यता दिनुपर्छ ।

केही दिन अगाडि ओलीले संसदीय दलबाट प्रमुख सचेतक देवप्रसाद गुरुङलाई हटाइदिएका छन् । गुरुङको ठाउँमा ओलीले विशाल भट्टराईलाई नियुक्त गरेका छन् । संसदीय दलको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यसको जानकारी संसद सचिवालयलाई पठाएका छन् ।

यही कुरा बुझेर ओलीले दल विभाजन गरेका छैनन् । ओलीको रणनीति बुझेका प्रचण्ड–माधव समूहले पनि दल विभाजन गर्न डराएको छ । प्रचण्ड–माधव समूहले जतिनै ठूला कुरा गरे पनि ओली समूहनै बलियो रुपमा आएको छ । संसद बैठक चल्यो भने नेकपाभित्रको विवाद अझै उत्कर्षमा जानेछ । नेकपाभित्रको विवाद मिलाउन दोस्रो वरीयताका नेताहरू सक्रिय छन् । उनीहरू सक्रिय भएपनि ठोस सहमति भएको छैन ।

ओलीलाई हटाउन प्रचण्ड–माधव समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक पटक भेटेर अनुरोध गरेका छन् । देउवाले हरेक पटक नेकपा फुटेको प्रमाणपत्र खोजेपछि ओली र प्रचण्ड–माधव समूह तनाबमा पर्दै आएको छ ।

नेकपाको विवादलाई राजनीतिक रुपमा जे भने पनि तत्कालीन सचिवालयका ९ जना नेताहरूको स्वार्थले यो अवस्था आएको हो । ओलीले पद छाड्न नचाहने । प्रचण्डलाई नभइ नहुने भएपछि विवादले ठूलो रुप लिएर पार्टी विभाजनको अवस्थामा पुगेको छ । यो विषयले गर्दा मुलुक संकटमा परेको छ ।

नेकपा फुटाएका प्रचण्ड–माधव समूहले महासचिव तोक्न सकेका छैनन् । माधव नेपालले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउन चाहेका छन् । प्रचण्डले जनार्दन शमालाई महासचिव बनाउन खोजेका छन् । ओलीसँग कुरा नमिलेर अलग पार्टी बनाएका प्रचण्ड–माधव समूह महासचिवको विषयमा विवाद गरेपछि अर्को बबण्डर भएको छ ।

Published : Friday, 2021 March 5, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया