बुटवलको विद्यालय बनाउन भारतले दियो साढे ४ करोड

काठमाडौं । रुपन्देही जिल्लाको श्री नहरपुर माध्यामिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतले साढे चार करोड रुपियाँ सहयोग गरेको छ ।

बुटवल उप–महानगरपालिका–११ नहरपुर स्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उप–महानगरपालिकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अनुरुप ‘नेपाल–भारत मैत्री विकास साझेदारी’ अन्तर्गत नेरु. ४.४१७ करोडको लागतमा विद्यालयको नयाँ भवनको निर्माण हुनेछ ।

सन् १९७१ मा स्थापना भएको श्री नहरपुर माध्यमिक विद्यालय राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध छ ।

यस विद्यालयले प्लस–टु तहको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ ।

हाल विद्यालयमा अध्ययन गरिरहेका कूल ११२७ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा रहेका छन् ।

Published : Thursday, 2021 March 4, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया