कम्युनिस्टलाई फाइदा हुने गरेर पौडेलले हर्कत गरेपछि देउवाले सम्झाए

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई पदको लोभ नरहेको बताएका छन् ।

चितवनको भरतपुरमा बुधबार पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जलि सभामा सम्बोधन गर्दै उनले टाउकोमा जिम्मेवारी आउँदा भाग्न नहुने बताएका छन् । ‘कांग्रेसलाई पदको लोभ पनि छैन, टाउकोमा आए भाग्ने पनि छैन, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन ।’

‘प्रधानमन्त्री पाऊँ, प्रधानमन्त्री पाऊँ भन्या पनि छैन, आयो भने भाग्नेवाला पनि छैन म, त्यही हो’, सभापति देउवाले भने, ‘यसबाट पार्टीलाई फाइदा नै होला राम्रो कुरा हो ।’

देउवाले रामचन्द्र पौडेलले सानो चित्त गर्ने गरेको गुनासो गरेका छन् । ‘सानो चित्त नगर्नुस् रामचन्द्रजी तपाईं विशाल हृदय राख्नुस्’, देउवाले भनेका छन्, ‘सानो चित्त छ रामचन्द्रजीको भन्ने मात्रै छन् के, त्यसकारण त्यस्तो नगर्नुस् ।’

‘राजनीतिमा के आउँछ, कस्तो आउँछ व्यहोर्दै जानुपर्छ, जिम्मेवारीबाट पन्छिन हुँदैन’, देउवाले भनेका छन् ।

अरू पार्टीको भन्दा आफ्नै पार्टीको मान्छे प्रधानमन्त्री हुँदा पार्टीलाई फाइदा हुने भएकाले चिन्ता नगर्न पौडेललाई सभापति देउवाले आग्रह गरेका छन् ।

‘चिन्ता नगर्नुस् रामचन्द्रजी तपाईंले, म पार्टीकै मान्छे प्रधानमन्त्री हुने हो, अरूभन्दा आफ्नै पार्टीको प्रधानमन्त्री भए फाइदै होला’, उनले भने, ‘तपाईं पनि खुसी हुनुहोला जस्तो लाग्छ मलाई त ।’

उनले भने, ‘शेरबहादुर हुनै हुँदैन भनेर चाहनुहुन्न होला जस्तो लाग्छ मलाई । तपाईंले भनेको कुराबाट त्यही बुझियो ।’

यसअघि, वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले जनताबाट विपक्षमा बस्ने जिम्मेवारी पाएको भन्दै त्यही भूमिकालाई जिम्मेवारीपूर्वक निभाउनुपर्ने बताएका छन् ।

उनले आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्षा राख्नु महत्वाकांक्षा हुने र यो विकृति हुने भन्दै हैसियतभन्दा बढी आकांक्षा नराख्न आग्रह गरेका छन् ।

पौडेलले भने, ‘राजनीतिको नाममा सत्तामा पुग्नेहरूबाट जनता निरास छन् । त्यो निरासा हटाउनका लागि अरू दायाँबायाँ नगरी निःस्वार्थ भावले कांग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, जिम्मवारीबाट पन्छिन हुँदैन ।’

‘प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डगमगाउनु हुँदैन’, नेता पौडेलले भनेका छन् । राजनीतिक विकृति बढ्दै गएको भन्दै पौडेलले यसबाट लोकतन्त्रलाई बचाउन कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेता पौडेलले भनेका छन्, ‘विकृति के हो, वास्तवमा कसैले पनि आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्षा राख्नु यो महत्वाकांक्षा हो र यो विकृति हो ।

‘आफ्नो हैसियतभन्दा बढी आकांक्षा हामी कसैले पनि नराखौं’, पौडेलले भने, ‘अहिले कांग्रेस प्रतिपक्षमा छ अहिले कांग्रेस जुन हैसियतमा संसदमा छ ।

उनले भनेका छन्, ‘जुन हैसियतमा राष्ट्रिय राजनीतिमा उपस्थित छ कांग्रेसले आफ्नो हैसियतअनुसारको भूमिका निर्वाह गर्नुपर्छ । विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ ।’

नेता पौडेलका पछिल्ला गतिविधि र हर्कतहरू कम्युनिस्टलाई फाइदा हुने गरेर भएको भन्दै आलोचना हुने गरेको छ ।

पौडेलले प्रचण्ड र माधव नेपाललाई सहयोग गर्ने गरेर अभिव्यक्ति दिने गरेका छन् । प्रचण्डले कांग्रेसलाई हराउन ओलीसँग मिलेर निर्वाचन लडेको पौडेलले अहिले आएर भुलेका छन् ।

देउवालाई कमजोर बनाउने नाममा नेता पौडेलले कांग्रेसलाई नै कमजोर बनाएको आरोप छ ।

Published : Wednesday, 2021 March 3, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया