भारतले ललितपुर र सिन्धुपाल्चोकका तीन वटा सम्पदा बनाइदिने

काठमाडौं । भारतले ललितपुर र सिन्धुपाल्चोकका तीन वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सम्झौता पत्र र ठेक्का सम्झौतामा हस्तक्षर गरेको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनाहरूमा ललितपुरस्थित जेष्ठवर्ण महाविहार तथा सिन्धुपाल्चोकस्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा रहेका छन् ।

इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले जेष्ठवर्ण महाविहारको पुनर्स्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ । बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ले गर्नेछ ।

सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत नेरु २४.६ करोडको लागतमा हुनेछ ।

भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्स्थापना र पुनर्निर्माणका लागि कूल नेरु ५ अर्ब ८० करोड सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रमअन्तर्गत अघि बढाइने २८ वटा सांस्कृतिक परियोजनामध्ये ६ वटा परियोजनाको ठेक्का हस्तान्तरण भइसकेको छ ।

नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र काठमाडौं महानगरपालिकाका मेयरले गत फागुन १६ गतेका दिन काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्र्थापनाका लागि संयुक्त रुपमा भूमि पूजन कार्यक्रम सम्पन्न गरेका थिए ।

Published : Wednesday, 2021 March 3, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया