कांग्रेस नेता खतिवडाद्वारा ‘ओली–प्रचण्ड–माधव’को भित्री कुराको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले निर्वाचनका बेला राजनीतिक स्थायित्वको नारा लगाएर झण्डै दुईतिहाइ बहुमत पाएका नेकपाका नेताहरूले मुलुकमा अस्थिरता निम्त्याएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा नेता खतिवडाले केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसहितका शीर्ष नेताहरू राजनीतिक अस्थिरताको जाड भएको बताए । खतिवडाले नेकपाले मुलुक चलाउनसक्दैनौँ भनेर हात उठाए कांग्रेसले मुलुकलाई नेतृत्व गरेर निकास दिने बताए ।

‘अस्थिरता ल्याउन नेकपाका नेताहरूको बराबरी दोष छ । काम गर्न नसकेर देशमा अस्थिरता ल्याएका छन्’, उनले भने, ‘नेकपाको सरकारले यो काम गरेको छ । हिजोका दिनमा सहमतिमा सबै काम गरे । आन्तरिक व्यवस्थापन नमिलेर, पैसाको राजनीति नमिलेर, खानपिनमा नमिलेर झगडा गर्नुभएको छ ।’

‘संसद विघटन गर्ने काम उनीहरूबाटै भयो । को प्रधानमन्त्री हुने विषयमा केन्द्रित भएका छन्’, उनले भनेका छन् ।

खतिवडाले कांग्रेसले प्रधानमन्त्री ओलीलाई हटाउन एक्लै नसक्ने बताए । अहिले ओलीलाई हटाएर प्रचण्ड वा माधव नेपाललाई प्रधानमन्त्री बनाउन कांग्रेसलाई आवश्यक नरहेको बताए ।

‘कांग्रेसले एक्लै अविश्वासको प्रस्ताव दर्ता गर्न सक्दैन । कांग्रेसले सरकार विघटन गर्न सक्दैन । कांग्रेस कुनै पनि पक्षमा छैन’, उनले भने, ‘नेकपा भन्ने पार्टी एउटै छ । पार्टी फुटेको छैन । संसदीय दल फुटेको छैन । हामी किन एउटालाई पक्षमा जाने ?’

‘कांग्रेसले कसको चाहना के छ भनेर निर्णय गर्दैन । कांग्रेसले संस्थागत निर्णय गर्छ’, खतिवडाले भनेका छन्, ‘नेकपा नफुटेर यसलाई वा उसलाई समर्थन गर्छु भन्ने हुँदैन । उनीहरूको व्यवहार स्पष्ट भएको छैन ।’

उनले भनेका छन्, ‘आधिकारिक रुपमा दुई पार्टी भएर अािवश्वासको प्रस्ताव दर्ता गरेपछि हामी निर्णय गरौँला ।’

‘संसद आएपछि प्रचण्ड–माधव समूहले अहिले किन अविश्वासको प्रस्ताव दर्ता गर्नु हुँदैन ? घरघरमा प्रधानमन्त्री दिँदै जानुभएको छ’, खतिवडाले भनेका छन् ।

‘पार्टी दुइटा भएर आएपछि कांग्रेसले नेतृत्व दिन्छ । सांसद किनबेचका कुरा बाहिर आएको छ । नेकपाका सांसदलाई भेँडाबाख्रा बनाउन खोजिएको छ’, उनले भने, ‘संसदीय व्यवस्थामा कालोधब्बा नेकपाले बनाएकोछ । सहमतिको सरकार बनाएर अर्ली निर्वाचनमा जानुपर्छ ।’

‘प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव नल्याउने, बाहिर कराएर हिँड्ने । कुन पार्टीमा छ थाहा भएन’, उनले भनेका छन्, ‘नेकपाका नेताहरूले विभिन्न कुरा गरेपनि पार्टीगत रुपमा कुरा गर्न आउनुपर्छ । ओलीले चाहँदैमा केही हुँदैन । पार्टीबाट निर्णय गराएर ल्याउनुपर्छ ओलीजीले ।’

उनले भनेका छन्, ‘अरुले नसकेको काम कांग्रेसले नेतृत्व गरेको छ । कम्युनिस्टले ग्वाँ गरेर छाडेर हिँड्नु प¥यो । त्यसपछि कांग्रेसले मुलुकको नेतृत्व लिन्छ ।’

Published : Wednesday, 2021 March 3, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया