नेविसंघले ओलीको सातो लियो, कम्युनिस्ट मतियार पुलिसहरूको सूची तयार

फाइल तस्वीर

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कालो झण्डा देखाएर सातो लिएको छ ।

पोखरामा सोमबार कार्यक्रममा सहभागी हुन आएका ओलीलाई नेविसंघका कार्यकर्ताले कालो झण्डा देखाएर विरोध जनाएका हुन् । कालो झण्डा देखाउने क्रममा प्रहरीले नेविसंघका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

ओली प्रशासनले नेविसंघको विरोध प्रदर्शनबाट डराएर धरपकड गर्न लगाएको आरोप नेविसंघले लगाएको छ । ओली नेविसंघसँग डराएको भन्दै शान्तिपूर्ण प्रदर्शनबाट कायर कम्युनिस्टहरू डराएको नेविसंघका अध्यक्ष राजिव ढुंगानाले बताएका छन् ।

नेकपा ओली समूहको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आएका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताले कालो झण्डासहित प्रदर्शन गरेका हुन् ।

रमेशचन्द्र जोशी, प्रताप बानियाँ, अशिम सुवेदी, सन्देश खत्री, अमन क्षेत्री, दिवस रानाभाट, शुसान पौडेल तथा खेम बराललाई प्रहरीले स्टेज पछाडिबाट नै पक्राउ गरेको छ ।

नेविसंघले पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजिव ढुंगानाले प्रहरी दमनको विरोध गर्दै पक्राउ परेका विद्यार्थीलाई विनासर्त रिहा गर्न माग गरेका छन् ।

उता, नेविसंघ जिल्ला कार्यसमिति कास्कीले प्रधानमन्त्री ओलीविरुद्ध पोखरामा कालो झण्डा प्रदर्शन गर्ने तयारी गरिरहेका विद्यार्थीलाई पक्राउ तथा घरमा नै गएर नियन्त्रणमा राखेको भन्दै भर्त्सना गरेको छ ।

नेविसंघले विज्ञप्ति जारी गरेर प्रहरीको उक्त कार्यको विरोध गर्दै भर्त्सना गरेको हो ।

‘कास्की प्रहरीले घाँटी न्याक्दै, कुटपिट गर्दै, अभद्र व्यवहारसहित पक्राउ गरेको घटनाको नेवि संघ कास्की घोर भर्त्सना गर्छ’, नेविसंघ कास्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेविसंघले पोखरा विद्याविद्यालयका सभापति फिरोज सुवेदी तथा संघका नेताहरू निर्दोषविक्रम पौडेल, प्रवीण ओझा तथा सिभिर श्रेष्ठलाई उनीहरू बसिरहेकै स्थानबाट अभद्र व्यवहार गरेर पक्राउ गरिएको आरोप लगाएको छ ।

निर्दोषविक्रम पौडेललाई प्रहरीले उनकै घरमा बाहिर निस्कन नदिएर नियन्त्रणमा राखिएको थियो ।
‘यसबाट प्रष्टरुपमा कास्की प्रहरी सत्ताधारी नेकपाको मतियार बनेर प्रहरी नै नेकपाको भातृ संगठन शैलीमा प्रस्तुत भएको देखिन्छ’, नेविसंघले विज्ञप्तिमा भनेको छ ।

नेविसंघले कम्युनिस्ट सत्ताको मतियार बनेको भन्दै धरपकड गर्ने र गर्न लगाउने प्रहरीका हाकिमहरूको सूची तयार पारिएको जनाएको छ ।

नेविसंघले प्रहरीद्वारा पक्राउ गरिएका विद्यार्थी नेता तथा घरमा नै नियन्त्रण गरिएकालाई तरुन्त बिना सर्त रिहाई नगरेको अवस्थामा देशभरिले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Published : Monday, 2021 March 1, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया