छ अर्बमा भारतले बनाइदिने भयो सेतो मच्छिन्द्रको मन्दिर

काठमाडौं । भारत सरकारको सहयोगमा काठमाडौंमा सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःस्थापना कार्य शुरू भएको छ ।

साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिवद्धता जनाएको नेरु. ५.८ अर्ब आर्थिक सहयोगअन्तर्गत पुनर्निर्माण हुन लागेको छ ।

भारतले सहयोग गर्ने २८ साँस्कृतिक सम्पदामध्ये यो पहिलो परियोजना हो । यी सबै २८ साँस्कृतिक सम्पदा क्षेत्रहरू नेपाल सरकारले पहिचान गरेका हुन् ।

सन् २०१७ अगस्टमा यी क्षेत्रहरूको पुनर्निर्माण हेतु नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरुप पुनःस्थापना कार्य गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले निकायहरुको पहिचान गरिरहेको छ । केन्द्रीय आयोजना इकाई (भवन) यी परियोजनाहरूको कार्यान्वयन इकाई हो ।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनःस्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिका अनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनःस्थापना हुनेछ ।

यी सम्पदाहरूको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामाग्रीहरूको यथासक्य प्रयोग गरिनेछ ।

मन्दिरको साज सज्जा तथा काष्ठकला सम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पुर्‍याइनेछ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त यो मन्दिर १० औं शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ ।

काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने र काठमाडौं शहरको मुटुमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरलाइ दुवै हिन्दू र बौद्घ धर्मावलम्बीहरुले उही आस्थाका साथ पूजा गर्छन् ।

यी जीवित साँस्कृतिक सम्पदाहरूको परम्परागत गौरव गाथालाई संरक्षण गर्न यी क्षेत्रहरुको संरक्षण एवम् पुनर्निर्माणमा नेपाल सरकारसँग आबद्घ हुन पाएकोमा भारत सरकार अत्यन्तै हर्षित भएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा काठमाडौं महानगरपालिकाका मेयरले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्र्थापनाको काम गर्न संयुक्त रुपमा भूमि पूजन कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा काठमाडौंका उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यलगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 March 1, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया