कांग्रेसका पूर्वसांसद उप्रेतीको निधन, नेता खाण मर्माहत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको निधन भएकोमा आफू मर्माहत भएको बताएका छन् ।

खाणले आइतबार शोक वक्तव्य जारी गरेर कांग्रेस नेता एवम् पूर्वसांसद ८६ वर्षीय उप्रेती निधनले पार्टीलाई ठूलो क्षति पुगेको जनाएका हुन् ।

उप्रेतीको शनिवार राति असामयिक निधन भएको कांग्रेसले जनाएको छ ।

‘पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय रहँदा पटक–पटक जेल जीवन समेत व्यतित गर्नुभएका उप्रेती वि.स. २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको थियो’, शोक वक्तव्यमा खाणले भनेका छन्, ‘उहाँले राजनीतिमा मात्र नभएर चिकित्सा क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्नुभएको थियो ।’

वि.स. २०१८ सालदेखि चिकित्सकका रुपमा सक्रिय रहेका स्व. उप्रेतीले आर्थिक अवस्था कमजोर बिरामीहरूको निःशुल्क उपचार गर्ने गर्थे ।

उनको निधनले चिकित्सा क्षेत्र एवं नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको खाणले बताएका छन् ।

‘उप्रेतीको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्र्दै आत्माको चीर शान्तिको कामनाका साथै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, खाणले भनेका छन् ।

‘दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु’, उनले भनेका छन् ।

Published : Sunday, 2021 February 28, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया