गगनद्वारा सांसदमा प्रतिस्पर्धा गरेका ठूलै नेतासहित एक हजारलाई कांग्रेसमा स्वागत

चकमके । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी र राप्रपाका सयौँ नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् ।

सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको चकमकेमा शनिबार कांग्रेसले आयोजना गरेको आमसभामा नेता थापाले साढे नौं सयभन्दा धेरै स्थानीय नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका नानीबाबु कार्कीसहितका रहेका छन् ।

नेपाली कांग्रेसका सभापति उज्वल बराललले नेकपा, जसपा र राप्रपाका साढे ९ सयभन्दा धेरै स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको जानकारी दिएका छन् ।

चकमकेमा शनिबार आयोजित कांग्रेसको आमसभामा हजारौं कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

कम्युनिस्टहरूले धोका दिएको भन्दै नेकपा छाड्ने नवप्रवेशीहरूले कांग्रेसमा रहेर देश र जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरूले कांग्रेसनै सबैभन्दा राम्रो पार्टी रहेछ भन्दै केन्द्रीय सदस्य थापाको हातबाट कांग्रेसको सदस्यता लिएका छन् ।

कांग्रेस नेता थापाले पनि विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीहरूलाई भेदभाव नगरिकन क्षमताका आधारमा जिम्मेवारी दिइने आश्वासन दिएका छन् । उनले कांग्रेस पार्टी कम्युनिस्ट जस्तो झुठको खेती गर्ने पार्टी नरहेको बताए ।

सोही कार्यक्रममा नेता थापाले मुलुक निर्वाचनतिर गएको भन्दै चुनावको तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । थापाले कांग्रेस कम्युनिस्टको पुच्छर बनेर सरकारमा नजाने समेत बताएका छन् ।

उनले अबको निर्वाचनमा देशभरि चारतारे झण्डा गाडेर कांग्रेसले बहुमत ल्याउने समेत बताएका छन् । नेता थापाले पार्टीको १४औँ माहाधिवेशन एकतावद्ध भएर मेलमिपाको नीति लिएर गर्नुपर्ने बताएका छन् ।

Published : Sunday, 2021 February 28, 10:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया