सोलु कांग्रेसमा नेकपाका कार्यकर्ता प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जसरी पनि जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस सोलु–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै पौडेलले कम्युनिस्ट पार्टी सिद्धान्तहीन भएको बताए । उनले सिद्धान्तको टुङ्गो नभएको भन्दै कांग्रेसको नेतृत्वमा बनेको संविधान केपी ओलीले च्यातेको आरोप लगाए ।

कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले कांग्रेसलाई अहिले कांग्रेस बन्ने दिन आएको बताए । सत्तामा जान ओली र प्रचण्ड बन्न नहुने उनले सुझाव दिएका छन् ।

‘कांग्रेस कहाँ छ भनेर खोज्दै आउनेछ र अलिअली खोजी सकेका छन्’, उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले गणतन्त्र ल्याउन हस्ताक्षर गर्नु भएको थिएन भने मुलुकमा गणतन्त्र आउने थिएन ।’

कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेत, नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेत, नेपाली कांग्रेस दोलखाका सभापति रुद्र खडका, महासमिति सदस्यहरू खिलराज बस्नेत, प्रकाशसिंह कार्की, भोजराज कार्की, जयप्रसाद राई, शम्भुहरि बास्तोला, भलाकाजी कुलुङ, कुशराज राई, सन्तोष कट्टेल, नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष प्रमोदहरि गुरागाइँ, नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा, किसान संघ सोलुखुम्बुका अध्यक्ष हुतराज बस्नेत, नेपाल महिला संघकी सभापति छिण्डील्हमु शेर्पा, नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सभापति अश्विनबाबु थापा, हेमराज कट्टेल, विमला गुरुङ, पुष्कर बास्तोला, भरत काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका नेता स्व.कृष्ण नेपालीको छोरी कमला नेपालीले कागेलमा बन्ने वीपी स्मृति भवनका लागि २० हजार एक सय आर्थिक सहयोग गरेकी छिन् ।

कार्यक्रममा नेकपा खुम्बु पासाङल्हामु गाउँपालिकाका सचिव रामकुमार तामाङसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Saturday, 2021 February 27, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया