२५ वटा स्वास्थ्य चौकी बनाउन भारतद्वारा ५३ करोड प्रदान

काठमाडौं । भारतले सिन्धुपाल्चोक र धादिङका २५ वटा स्वास्थ्य चौकीहरू पुनर्निर्माणका लागि ५३ करोड रुपियाँ दिएको छ ।

भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले चारवटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

धादिङ्गमा १२ वटा र सिन्धुपाल्चोकमा १३ वटा गरी २५ वटा स्वास्थ्य चौकीको भवनहरू पुनर्निर्माण हुन लागेका छन् । २०७२ सालको भूकम्पले क्षति पुर्‍याइएका यी स्वास्थ्य चौकी रु. ५३ करोडको लागतमा पुनर्निर्माण हुन लागेको हो ।

सोही अवसरमा सफल बोलपत्रदातालाई कार्य हस्तान्तरण गर्न उदेश्यले ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का बीच चारवटा ठेक्का सम्झौतामा पनि हस्ताक्षर सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ ।

केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । सोही प्रतिबद्घता अनुरुप १४७ वटा स्वास्थ्य परियोजना मध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको छ ।

बाँकी परियोजनाहरु बोलपत्र आव्हान प्रक्रियाको सुरुवाती चरणमा रहेको छ । यी स्वास्थ्य संरचनामा ओपिडी, डिस्पेन्सरी, औषधी भण्डारण कक्ष, एन्टी, पोस्ट नेटल रुम, स्वास्थ्यकर्मीका लागि शयन कक्ष, भान्साघर, अपाङ्गमैत्री सरसफाई संरचना रहनेछन् ।

Published : Saturday, 2021 February 27, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया