कांग्रेसको ढोकामा कम्युनिस्टहरू म्याउ गर्न आए, सरकार चलाउन सक्दैनन्ः खतिवडा

छहरे । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पुनःस्थापित भएको संसदबाट छिटोभन्दा छिटो नयाँ निर्वाचन गर्नुपर्ने बताएका छन् ।

नुवाकोट जिल्लाको लिखु गाउँपालिकामा शुक्रबार प्रथम छहरे महोत्सव एवम् व्यापारिक मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले पुनःस्थापित संसदपछि पनि नेकपाको सरकारले केही गर्न नसक्ने बताए ।

‘संसद पुनःस्थापना भएपनि अब मिलेर बन्ने सरकारले केही गर्न सक्दैन’, उनले भने, ‘सरकारले कम्युनिस्टको नेतृत्वमा काम गर्न नसक्ने हुँदा अब यही ब्युतिएको प्रतिनिधि सभाबाट छिटोभन्दा छिटो निर्वाचन गरेर जनमत आउनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा छ ।’

कांग्रेस नेता खतिवडाले नेकपाले फेरि पनि सरकार चलाउन नसक्ने र अबको ५–६ महिनापछि चुनावमा जाने वातावरण आउन सक्ने घोषणा समेत गरेका छन् ।

उनले भने, ‘आजभन्दा तीन वर्ष अगाडि जनताले नेकपालाई झण्डै दुईतिहाइ बहुमत दिएर जनताले सरकारमा पु¥याए । तीन वर्षमा एक दिन पनि कांग्रेसले संसद बन्द गरेन । नेपाल बन्द, चक्का जाम, मन्त्रीले बोकेका बिफ्रकेश खोसेनौँ, कुर्सी ल्याएर अरुलाई हान्न गएनौँ । नेकपालाई सरकार चलाउन दियौँ ।’

‘कम्युनिस्टहरू फेरि म्याउ म्याउ गर्दै नेपाली कांग्रेसका नेताका घरमा हल गोरु बाँधेर यो खाइदेउ त्यो गरिदेउ भन्न थालेका छन्’, उनले भने, ‘हामीलाई विश्वास छ एकीकृत हुँदा गर्न नसकेको काम फुटेका कम्युनिस्टले गर्न सक्दैनन् भनेर हामीलाई कम्युनिस्टप्रति विश्वास छैन ।’

उनले भनेका छन्, ‘सत्तामा बस्दा नेकपाले गरेको काम देखेका छौँ । केही भएको छैन । एउटा समूहले अर्को समूहलाई गाली गर्ने त्योभन्दा बाहेक केही छैन ।’

उनले भने, ‘ओलीले दाने समूह र दाने समूहले ओलीलाई गाली गर्नेभन्दा केही भएको छैन ।’
‘देशलाई समृद्धितिर लैजाने काम कहिल्यै भएन । राज्य शक्तिको दुरुपयोग र घृणा फैलाउने मात्रै काम भयो’, खतिवडाले भने, ‘सत्तामा बसेर लुट्ने, भ्रष्टाचार गर्ने मात्रै काम भएको छ ।’

‘हामीले कुन कम्युनिस्टलाई समर्थन गर्ने वा कुन कम्युनिस्टलाई विरोध गर्ने भन्ने होइन । आजसम्म नेकपा एउटै छ’, खतिवडाले भने, ‘जुनदिनसम्म नेकपा छुट्याएर आउनु हुन्न तबसम्म समर्थन रहँदैन । कांग्रेसका नेताहरूले बिहीबार गरेको निर्णय असाध्यै राम्रो छ । कम्युनिस्टलाई बोकेर मुलुक समृद्धिमा जाँदैन ।’

‘कम्युनिस्ट पार्टीका नेताहरू आफू दुईतिहाइ हुँदा केही गर्न नसक्ने’, उनले भने, ‘पार्टीभित्रको व्यवस्थापन गर्न नसकेर पाँच वर्षको संसद तीन वर्षमा हत्या गर्न लागेका थिए ।’

कांग्रेस नेता खतिवडाले भने, ‘सर्वोच्च अदालतले त्यसलाई बचाइदियो । संविधानलाई बचायो । न्यायाधीशहरूलाई बधाइ ।’

कांग्रेस नेता खतिवडाले ७० वर्षसम्म कसैले बनाउन नसकेको संविधान कांग्रेसको नेतृत्वमा संविधानसभाबाट बनाएको भन्दै संविधान सबैको साझा दस्तावेज बनेको बताए ।

‘दलित, जनजाति, महिलालगायतलाई संविधानमा अधिकार दिन सक्यौँ’, उनले भनेका छन् ।

‘नुवाकोटबाट कांग्रेसका राम्रा मान्छेहरू हारेका छन् । जितेर गएका कम्युनिस्टले केही गर्न सकेन’, कांग्रेस नेता खतिवडाले भने, ‘एउटा बाटोलाई ५० करोड छुट्याउन नसक्ने कम्युनिस्ट सरकारले केही गर्न सक्दैन ।’

नुवाकोटको लिखु गाउँपालिकाको शुक्रबारदेखि छहरे महोत्सव शुरु भएको छ । महोत्सवको कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले गरेका थिए ।

Published : Friday, 2021 February 26, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया