यी हुन् भागरथीका दोषी पत्ता लगाउने हीरोहरू, पाए बढुवासहितको पुरस्कार

काठमाडौं । नेपाल प्रहरीले प्रहरीको संगठनको प्रतिष्ठा र गौरव बढाउन उल्लेखनीय कार्य गरेका दुई जना प्रहरी कर्मचारीहरूको एक तह बढुवा गरेर सम्मान गरेको छ ।

अन्य पाँच जना प्रहरी कर्मचारीहरूलाई नगदसहित सम्मान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उत्कृष्ट कार्य गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा प्रहरी नायव निरीक्षकमा र ईलाका प्रहरी कार्यालय राजापुर बर्दिया दरबन्दीका प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रहरी नायव निरीक्षक पदमबहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको घटनामा अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै एक तह स्वतः बढुवा गरिएको छ ।

कैलाली धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द विक तथा प्रहरी जवान रामबहादुर साउँदलाई तस्करहरूको समूहले कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका–१ बस्ने ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न अहम् भूमिका निर्वाह गरेका थिए ।

प्रहरी हवल्दार नरबहादुर थापाले तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणीपछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदारी एवं निष्ठाका साथ प्रशंसनीय कार्य गर्ने ५ जना प्रहरी कर्मचारीहरू नगद पुरस्कारद्वारा पुरस्कृत भएको विज्ञप्तिमा उल्लेख छ ।

नगद पुरस्कारद्वारा पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दीका प्रहरी नायव उपरीक्षक पञ्च कुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायव निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोकबहादुर कुँवर रहेका थिए ।

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरूको कार्य सम्पादनस्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2021 February 24, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया