भारतले दियो चम्पादेवी विद्यालय भवन बनाउन ६ करोड ८५ लाख

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले काठमाडौंमा सामुदायिक विद्यालयको भवन निर्माणका लागि ६ करोड ८५ लाख प्रदान गरेको छ ।

दक्षिणकाली नगरपालिकाको श्री चम्पादेवी माध्यमिक विद्यालयको भवन पुनर्निर्माणका लागि भारत सरकारले राजदूतावासमार्फत आर्थिक सहयोग गरेको हो ।

शिक्षाको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण हुने चम्पादेवी मावि ६६औं विद्यालय रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालका ८ जिल्लामा कूल ७१ शैक्षिक संस्थाहरूको पुनर्निर्माणको उदेश्यले भारतले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ ।

यस बाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २० करोड आर्थिक सहयोग गर्ने प्रतिबद्घता पनि गरिसकेको छ ।

६ करोड ८५ लाखको लागतमा पुनर्निर्माण हुन लागेको चम्पादेवी माध्यमिक विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्डअनुरुप निर्माण हुनेछ ।

नवनिर्मित संरचनामा दुइटा ब्लकहरू रहनेछन् । १३ वटा कक्षा कोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालयका साथै प्रत्येक तल्लामा छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना रहनेछन् ।

विद्यालयहरूको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

भूकम्पले क्षति पुर्‍याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माणका लागि भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ ।

चम्पादेवी माविको भवन शिलान्यास कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृत विभागका प्रमुख नवीन कुमार तथा दक्षिणकाली नगरपालिकाका मेयरले संयुक्त रुपमा गरेका थिए ।

Published : Wednesday, 2021 February 24, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया