कम्युनिस्टले उत्पात मच्चाउन खोजेपछि कांग्रेस नेता थकालीद्वारा उत्तेजित नहुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री खड्गप्रसाद ओली समूहको पराजय नभएको भन्दै अदालतले कम्युनिस्ट सरकारको असंवैधानिक निर्णयलाई सच्याइदिएको बताएका छन् ।

बुधबार कांग्रेस नेता थकालीले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भनेका छन् । ‘यो फैसलाले सम्माननीय प्रधानमन्त्री केपी ओली समूह पनि पराजित भएको होइन । केवल उहाँले गरेका असंवैधानिक निर्णयको सर्वोच्च अदालतले सच्चाई दिएको मात्र हो ।’

पूर्वमन्त्री थकालीले विजयी जुलुसहरू निकालेर कसैको पनि तेजोबध नगर्न सबै पक्षलाई अनुरोध गर्दै परिस्थितिलाई उत्तेजित नबनाउन आग्रह गरेका छन् ।

‘त्यसैले विजयी जुलुस समारोह मनाउँदा कसैलाई तेजोबध हुने गरी कुनै पनि कार्य नगरौँ । मेरो सविनय अनुरोध छ’, उनले भनेका छन् ।

‘माननीयज्यूहरूलाई कार्यकालको सफलताको कामनासहित हार्दिक बधाई छ’, पूर्व मन्त्री थकालीले भनेका छन् ।

‘सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीज्यूले गर्नुभएको संसद विघटन असंवैधानिक भएको ठहर गरीसकेको छ’, उनले भने, ‘यो फैसलाले नेपाली नागरिक र संवैधानिक सर्वोच्चता स्थापित भएको छ ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालबीचको सत्तास्वार्थको झगडाले ओली सरकारले संसद भङ्ग गरेका थिए ।

संसद भङ्ग गर्ने ओली र उनको सरकारको निर्णयको नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेर सडक आन्दोलन समेत गरेको थियो ।

सर्वोच्च अदालतले ओलीको निर्णयलाई असंवैधानिक भनेर उल्ट्याइदिएपछि सहमतिका साथ मिलेर जान दलहरूलाई अवसर मिलेको छ ।

कांग्रेस नेता एवम् पूर्वमन्त्री थकालीले धुमलिएको राजनीतिलाई अझै उत्तेजित नबनाउन अनुरोध गरेका हुन् ।

प्रचण्ड–माधव समूहले आफूहरूको जित र ओलीको पराजय भए जसरी विजयउत्सव मनाउन थालेपछि कांग्रेस नेता थकालीले चिन्ता जनाएका हुन् ।

Published : Wednesday, 2021 February 24, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया