ओलीको जन्मोत्सव मनाएर सक्किएपछि बालुवाटारको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतको फैसलाका विषयमा बालुवाटारको धारणा बाहिर आएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतको फैसलाका विषयमा धारणा राखेका हुन् ।

‘सर्वाेच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ’, उनले भनेका छन्, ‘कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन ।’

‘बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ’, सल्लाहकार थापाले भनेका छन् ।

‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ’, थापाले भनेका छन्, ‘तत्काल राजीनामा दिनुहुने छैन ।’

प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक झगडा बढेर गएपछि प्रतिनिधि सभा भङ्ग गरेका थिए । संसद भङ्ग गरेर वैशाखमा चुनावको घोषणा गरेका थिए ।

तर, सर्वोच्च अदालतले मंगलबार संसद भङ्ग गर्ने प्रधानमन्त्री ओलीको कदमलाई उल्ट्याइदिएको छ । ओलीले आफ्नो जन्मदिवस बालुवाटारमा धुमधामसँग मनाइरहेका बेला सर्वोच्च अदालतले संसद भङ्ग गर्ने निर्णय उल्ट्याएर संसद पुनःस्थापना गरिदिएको छ ।

तीन वर्षसम्म सरकार चलाएका ओलीले संसद भङ्ग गरेपछि नेकपा विभाजन नै हुन पुगेका छ । नेकपा विभाजन भएपनि कानूनी रुपमा विभाजन भएको छैन ।

निर्वाचनमा जनताले तत्कालीन एमाले र माओवादीको वाम गठबन्धनलाई झण्डै दुईतिहाइ बहुमत दिएका थिए । बहुमत हुँदा पनि कम्युनिस्टले सरकार चलाउन सकेनन् ।

भ्रष्टाचार, बेथिति, मूल्यवृद्धि मात्रै भएको आरोप छ । सत्तास्वार्थ मिल्दासम्म एक भएका ओली, प्रचण्ड र माधव नेपालसहितका नेताहरू सडकबाट एकले अर्कालाई गाली गलौज गर्दै आएका छन् ।

Published : Tuesday, 2021 February 23, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया