खतिवडाद्वारा सर्वोच्चको फैसला स्वागत, कांग्रेसको नेतृत्वमा बनेको संविधान रक्षा भयो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन् ।

खतिवडाले मंगलबार प्रतिक्रिया दिँदै सर्वोच्चको फैसलालाई कांग्रेसले शुरुदेखिनै मान्ने भनेर आएको बताए ।

‘कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओलीको संसद भङ्ग गर्ने कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको थियो’, खतिवडाले भने, ‘कांग्रेसले संवैधानिक व्यवस्थालाई सर्वोपरी मान्दै आएको छ ।’

कांग्रेसले सर्वोच्चद्वारा संसद पुनःस्थापना गरे पनि स्वीकार गर्ने र नयाँ जनादेशमा जान भने पनि मान्न तयार रहेको निर्णय गरेको खतिवडाले स्मरण गरे ।

खतिवडाले भने, ‘सर्वोच्च अदालतले संवैधानिक सर्वोच्चताको पक्षमा फैसला गरेको छ ।’

कांग्रेसको नेतृत्वमा बनेको संविधानको सर्वोच्च अदालतबाट बचाउ गरेकोमा खतिवडाले खुसी व्यक्त गरेका छन् । उनले संविधानलाई मिच्ने र उल्लंघन गर्ने अधिकार कसैलाई नरहेको बताएका छन् ।

कम्युनिस्टहरू कहिल्यै पनि संविधान, कानून र लोकतान्त्रिक प्रक्रिया बलियो होस् भन्ने पक्षमा नरहेको कांग्रेस नेता खतिवडाले बताएका छन् । उनले सर्वोच्च अदालतको फैसलाले संवैधानिक सर्वोच्चको पक्षको जित भएको बताएका छन् ।

सर्वोच्च अदालतले संसद भङ्ग गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई उल्ट्याइदिएको छ ।

Published : Tuesday, 2021 February 23, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया