पूर्वसांसद रानाभाटको निधन, देउवा र देवकोटाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन कांग्रेसका नेता एवम् पूर्व सांसद एकनाथ रानाभाटको निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।

देउवाले सोमबार शोक वक्तव्य जारी गरेर रानाभाटको निधन भएकोमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।

रानाभाटको सोमबार ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । स्व.रानाभाट विद्यार्थीकालीन अवस्थादेखि नै राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

रत्ननगर नगरपालिका —१४ पिठुवा निवासी स्व.रानाभाट वि.सं. २०५६ को आम निर्वाचनमा चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

रानाभाटको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको भन्दै देउवाले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् ।

रानाभाटको पार्थिव शरीरलाई मंगलबार बिहान ८ः३० देखि ९ः३० बजेसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय, नारायणगढमा राखिनेछ । त्यसपछि देवघाटमा अन्त्येष्ठी गरिने कार्यक्रम रहेको छ ।

यसैबीच, रानाभाटको निधनप्रति राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले शोक वक्तव्य जारी गरेर दुःख व्यक्त गर्दै मर्माहत तुल्याएको बताएकी छिन् ।

रानाभाटले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनहरूमा सदैव अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेको देवकोटाले बताएकी छिन् ।

रानाभाट वि.स. २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई चितवन जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।

पार्टीको विभिन्न तहमा रहेर संगठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै देवकोटाले नेता रानाभाटको निधनले नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको बताएकी छिन् ।

रानाभाटकोे निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै आत्माको चीरशान्तिको कामना गरेको छ ।

कांग्रेस प्रमुख सचेतक देवकोटाले शोकको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेकी छिन् ।

Published : Monday, 2021 February 22, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया