कोमल ओली–मुख्यमन्त्रीका कार्यकर्ता कांग्रेसमा प्रवेश, गिरीद्वारा स्वागत, महरालाई तनाब

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दाङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

पूर्वमन्त्री समेत रहेका गिरीले शनिबार श्रीगाउँमा आयोजित कार्यकर्ता भेलामा नेकपाका एक सयभन्दा धेरै कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा दङ्गीशरण गाउँपालिका वडा नम्बर ६ र ७ का नेकपाका कार्यकर्ता रहेका छन् ।

नेता गिरीले कांग्रेसको सरकारबिना देशमा शान्ति र समृद्धि सम्भब नभएको बताए । उनले कम्युनिस्टहरूको नक्कली नाराबाट नझुक्किन अपील गरेका छन् । जनतालाई झुक्याएर कम्युनिस्टले निर्वाचन जितेको गिरीले बताएका छन् ।

लुम्विनी प्रदेशका प्रदेश सांसद शंकर गिरीले कम्युनिस्टहरू स्वार्थमा लिप्त भएकै कारण देश दुर्घटना उन्मुख भएको बताए । उनले कांग्रेसको बिकल्प नरहेको बताएका छन् ।

कांग्रेस नेता केशव आचार्यले कांग्रेसले चुनाब हारेकै कारण अहिले पश्चिम् दाङ पछाडि परेको बताए । दाङको विकास कांग्रेसको पालमा भएको भन्दै कम्युनिस्टको मुख्यमन्त्री हुँदा पनि विकास हुन नसकेको बताए ।

कांग्रेसका जिल्ला सचिव शंकर डाँगीले कम्युनिस्ट सरकारको असंबैधानिक कदमको बिरोध गर्दै निर्वाचनको पूर्व तयारी गर्नुपर्ने बताए ।

दङ्गीशरण गाउँपालिका वडा नम्बर ७ का कांग्रेस ईकाइ सभापति हर्कबहादुर बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा ईकाइ उप–सभापति धर्मनाथ योगीले स्वागत गरेका थिए । ईकाइ सचिव उपेन्द्र शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

नेकपाकी नेतृ एवम् राष्ट्रिय सभाकी सांसद कोमल ओली र लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता कृष्णबहादुर महराका कार्यकर्ताहरू कम्युनिस्टसँग दिक्क भएर कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले बताएका छन् ।

दाङमा कम्युनिस्टलाई छाडेर धमाधम कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ ।

कांग्रेसले दाङमा आफ्नो संगठनलाई सुधार गरेर लगेको छ । प्रतिनिधि सभाका तीन वटै क्षेत्र गुमाएको कांग्रेसले अबको निर्वाचनमा दाङमा क्लिन स्वीप गर्ने योजना बनाएको छ ।

कांग्रेसले फागुन ३ गते घोराहीमा गरेको सरकार विरोधी सभामा ठूलो उपस्थिति रहेको थियो । कांग्रेसका कार्यकर्ताहरू पछिल्लो समय उत्साहित भएका छन् ।

Published : Saturday, 2021 February 20, 11:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया