काभ्रेमा नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश, निर्वाचनबाट कम्युनिस्ट समाप्त पार्ने घोषणा

मण्डन देउपुर । नेपाली कांग्रेसका नेताहरूले कम्युनिस्टहरू तीन वर्षभित्र असफल भएको भन्दै दुईतिहाइको बहुमत पाउँदा पनि सरकार चलाउन नसकेको बताएका छन् ।

काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं. १२ ज्याम्दीमा शनिबार आयोजना गरेको कार्यक्रममा नेताहरूले घरभित्रको झगडा मिलाउन नसकेर संसद भङ्ग गरेका कम्युनिस्टहरूले निर्वाचनमा जनताका सामु मुख देखाउन लाज मान्नुपर्ने बताए । उनीहरूले संसद भङ्ग गरेर केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपालसहितका नेताहरू असक्षमता देखाएको बताए ।

केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँले कम्युनिस्टहरूले संसद भङ्ग गरेर संविधान उल्लंघन गरेको बताए । उनले संसद भङ्ग गर्ने कम्युनिस्टहरूको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक रहेको जनाएको बताए ।

कांग्रेसले ओलीको कदमलाई सच्याउन दवाव दिन आन्दोलन गर्दै आएको बताए । उनले संविधानलाई ट्रयाकमा ल्याउन कांग्रेसले आन्दोलन गर्ने बताए ।

पूर्वअर्थ राज्यमन्त्री एवम् युवा नेता उदयशम्शेर राणाले कम्युनिस्टहरूले देखाएको समृद्धिको नारा कम्युनिस्टका ठूला नेताहरूमा मात्रै सीमित भएको बताए । उनले देशको विकास गर्न कांग्रेस आउनुपर्ने बताए ।

नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत रहेका राणाले युवा तरुणहरूले देशलाई निर्माण गर्नुपर्ने भन्दै त्यसको नेतृत्व कांग्रेसले गर्ने बताए ।

संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले ओलीको असंवैधानिक कदमले देशलाई अन्धकार बनाएको बताए । उनले दुईतिहाइ बहुमत पाउँदा पनि ओली–प्रचण्ड–माधवसहितका नेताहरूले संसद भङ्ग गरेर जनताको अधिकार खोसेको बताए । उनले कम्युनिस्टहरूलाई निर्वाचनबाट परास्त गरेर समाप्त पार्नुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद तीर्थ लामाले निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । संसद भङ्ग गर्ने कम्युनिस्टलाई जनताले निर्वाचनका बेला बदला लिने उनले चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस मण्डन देउपुर नगरपालिका– १२ का सभापति ज्ञानेन्द्रप्रसाद पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६० जना स्थानीय कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य हुमागाइँसहितका नेताहरूले स्वागत गरेका थिए ।

Published : Saturday, 2021 February 20, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया