कांग्रसको बहुमत आउँछ, खेलकुदका भ्रष्ट कम्युनिस्टलाई घिसारेर सडकमा ल्याउँछौँः नेता बस्नेत

चापागाउँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले अबको निर्वाचनमा कांग्रेस बहुमतका साथ विजयी हुने बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुर क्षेत्र नम्बर १ ले गोदावरी नगरपालिकाको चापागाउँमा आयोजना गरेको वीपी स्मृति फुटसल प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत बस्नेतले कांग्रेसले बहुमतका साथ निर्वाचत जित्ने दाबी गरेका हुन् । उनले कांग्रेस सरकारमा गयो भने खेलकुद मन्त्रालयको जिम्मेवारी लिने बताएका छन् ।

‘खेलकुद मन्त्रालयको नेतृत्व कांग्रेसले गर्नेछ । त्यसपछि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र ओलम्पिक कमिटीमा भएको चरम भ्रष्टाचारको छानबिन गरि दोषीमाथी कारबाही गर्ने छौँ’, उनले चेतावनी दिएका छन्, ‘खेलकुद क्षेत्रमा भ्रष्टाचार गर्ने कम्युनिस्टलाई घिसारेर सडकमा ल्याउँछौँ ।’

कांग्रेसको खेलकुद विभाग प्रमुख भएपछि लकडाउनको बेला पनि देशभरि खेलकुद प्रतियोगिता, रक्तदान र १३औँ दक्षिण एसियाली खेलकुदका विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको नेता बस्नेतले बताए ।

कांग्रेस नेता बस्नेतले राष्ट्रको पहिचान गराउने भनेकै खेलाडीहरू रहेको बताए । ‘राष्ट्रले खेलाडीको सम्मान गर्नुपर्छ’, उनले भने, ‘खेलाडीहरूको जीविकाका लागि पहल गर्न म सधै तम्तयार छु ।’

नेपाली कांग्रेस ललितपुरका सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्यले कम्युनिस्टहरूले खेलाडीमाथी शोषण गरेको बताए । उनले खेलको नाममा कम्युनिस्टले भ्रष्टाचार गरेको भन्दै भ्रष्टहरूलाई कारबाही गर्नुपर्ने बताए ।

‘यी कम्युनिस्टले सिकेकै यस्तै भ्रष्टाचार गर्न हो । कम्युनिस्टहरूले देश विकास गर्न आएका होइनन्’, अमात्यले भने, ‘कम्युनिस्टहरू जनतालाई शोषण गर्न आएका हुन् ।’

नेविसंघ ललितपुर क्षेत्र नम्बर १ ले गोदावरी नगरपालिकाको चापागाउँमा महामानव विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा प्रथम वीपी स्मृति फुटसल प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगितामा चापागाउँ टिम प्रथम भएको छ । मानिखेल टिम दोस्रो भएको छ । प्रतियोगितामा लेलेको टिम तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ७५ हजारसहितको पुरस्कार प्रदान गरिएको छ । दोस्रो हुने टिमलाई ५० हजार र तेस्रो हुने टिमलाई नगद २५ हजार प्रदान गरिएको छ ।

चपागाउँका वाङ्गेल लामालाई उत्कृष्ट खेलाडी घोषणा गरिएको छ । लामालाई ५ हजार नगदसहित पुरस्कृत गरिएको छ ।

आश्राङ्का विवेक तामाङ उत्कृष्ट किपर घोषित भएका छन् । तामाङलाई नगद ५ हजारसहित पुरस्कार प्रदान गरिएको छ ।

खेल अबधिभर २० गोल गरि मानिखेलका अरुण लामा सर्वाधिक गोलकर्ता बनेका छन् । उनलाई नगद ५ हजारसहित पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा कांग्रेस नेता बस्नेत, ललितपुर कांग्रेसका सभापति अमात्य, राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष एवम् नेपाली कांग्रेस खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विजेता खेलाडी र टिमहरूलाई ट्रफी, प्रमाण–पत्र, नगदसहितको पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रमको सभापतित्व नेविसंघ ललितपुर क्षेत्र नम्बर १ का अध्यक्ष राजकुमार थिङले गरेका थिए । कार्यक्रमको सञ्चालन नेविसंघका सचिव दीपक घिमिरेले गरेका थिए ।

Published : Saturday, 2021 February 20, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया