ललितपुरमा एक बोरा पैसाहित हाइप्रोफाइल जुवाडेहरू पक्राउ

ललितपुर । ललितपुर प्रहरीले जुवाको खालमा छापामारेर ३० लाखसहित १७ जना हाइप्रोफाइल जुवाडेहरूलाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका वडा नं. २५, सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवाखेली रहेको अवस्थामा प्रहरीले छापा हानेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिए । प्रहरीले जुवाको खालबाट प्रहरीले ३० लाख ४८ हजार ४ सय रुपियाँ बरामद गरेको छ ।

कौडा एक सेट (१६ वटा), क्यारमबोर्डको पाँच वटा गोटी, सिमीका दाना १५० र १९ बुक तास बरामद गरिएको एसपी महर्जनले बताए । यी सामग्री जुवा खेल्ने क्रममा प्रयाेग गर्ने गरिन्छ ।

शुक्रबार साढे ५ बजे प्रहरीले अजय महर्जनलाई घेरा हालेर छापामारेको थियो । चारतले पक्की घरको दोस्रो तलमा जुवा खेलाएको अवस्थामा फेला पारेको एसपी महर्जनले बताए ।

प्रहरीलाई मुचुल्का तयार पारेर सबै कानूनी प्रक्रिया पूरा गर्न शुक्रबार मध्य राति १२ बजेको थियो ।

प्रहरी निरीक्षकद्वय पोषण थपलिया र सुरेश भट्टको कमाण्डमा ३० जनाको प्रहरी टोलीले जुवाको खालमा छापामारेको एसपी महर्जनले जानकारी दिए । पक्राउ पर्ने अधिकांश जुवाडे ‘पटके’ अर्थात पटक–पटक पक्राउ परेका व्यक्ति हुन् । पक्राउ पर्ने सबै ललितपुरका हुन् ।

पक्राउ पर्नेमा ललिपुरका ४३ वर्षीय रामबहादुर लामा, ४० वर्षीय प्रकाश भण्डारी, ४७ वर्षीय लवकुमार बस्नेत, ४३ वर्षीय राकेश महर्जन, ३९ वर्षीय दिनेश पुडासैनी, ५३ वर्षीय हिटलर श्रेष्ठ, २८ वर्षीय अनिल महर्जन, ३६ वर्षीय श्रीकृष्ण खड्का रहेका छन् ।

त्यसैगरी पक्राउ पर्नेमा ४२ वर्षीय तुलसराम महर्जन, ४६ वर्षीय सानुकान्छा महर्जन, ४५ वर्षीय पूर्ण श्रेष्ठ, ४८ वर्षीय विनोद घिमिरे, ४० वर्षीय पूर्णमान माली, ५७ वर्षीय सानुकान्छा बस्नेत, ४६ वर्षीय राम खत्री, ३२ वर्षीय विनोद महर्जन र ५५ वर्षीय चिरीकाजी महर्जन रहेका छन् ।

पक्राउ पर्नेमध्ये विनोद घिमिरे जुवा खेल्दा सेटिङ गर्ने ‘मास्टर’ हुन् । घिमिरले रिमोर्ट थिच्ने गर्छन् ।

उनले थिचेको रिमोटबाट कौडामा जे दाउँ राख्यो त्यो दाउ पर्छ । उनी जुवाका विवादित व्यक्ति हुन् । उनी पटक–पटक पक्राउ पर्दै आएका छन् ।

पक्राउ परेका अर्का जुवाडे प्रकाश भण्डारी मिटर ब्याजी हुन् । उनले जुवा खेल्ने जुवाडेहरूलाई मिटर ब्याजमा पैसा दिने गर्छन् । भण्डारी ललितपुरका टोले गुण्डा पनि हुन् ।

जुवाको खालबाट पक्राउ परेका सानु कान्छा बस्नेत भनिने कान्छा बस्नेत युनाइटेड कोलोनीका मालिक हुन् । उनको युनाइटेड सहकारी, कलेज, स्कुल लगायतका व्यापारमा लगानी छ ।

उनी पनि पटके अर्थात जुवाको खालबाट पटक–पटक पक्राउ पर्ने हाइप्रोफाइल व्यक्तिमा पर्छन् । कान्छा बस्नेत नामुद जुवाडे हुन् ।

Published : Saturday, 2021 February 20, 10:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया