बालुवाटारद्वारा उप–राष्ट्रपति र सभामुखको पद खाइदिने धम्की, खुमलटारमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उप–राष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रम बहिस्कार गरेपछि विरोध जनाएका छन् ।

थापाले शनिबार सामाजिक सञ्जालमा स्टाटस लेखेर मर्यादाको ख्यालनै नराखेर उप–राष्ट्रपति र सभामुखले शपथ कार्यक्रमको बहिस्कार गरिएको बताएका छन् ।

राष्ट्रपतिको कार्यक्रम बहिस्कार गर्नेहरूलाई पदमा बसिरहने अधिकार नरहेको भन्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले घुमाउरो भाषामा राजीनामा मागेका छन् ।

‘अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गम्भीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्व जानकारी गराएर बाहेक उप–राष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवम् कर्तव्य स्वेच्छिक होइन र हुनै सक्दैन’, थापाले भनेका छन् ।

‘उप–राष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधान बमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिड्नु झन् गैरजिम्मेवारी हो’, सल्लाहकार थापाले चेतावनी शैलीमा भनेका छन् ।

उनले भने, ‘अझ नबोल्ने सम्मानित पदमा बसेर यस ढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन ।’

‘पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्याधीशहरू, पूर्व उपकूलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता ‘पूर्वहरू’को बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदै थियो’, थापाले चेतावनी दिँदै भनेका छन् ।

उनले भने, ‘बहालवाला उप–राष्ट्रपति र सभामुखको यस प्रकारको अनुपस्थिति, बहिस्कार र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भयो !’

‘गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटमा पक्षमा बहस गर्न वकिल पठाउने, बोलाइएको बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवरोध र अर्घेल्याई गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, शपथग्रहण समारोह बहिस्कार गर्ने, अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहने र टाँस्सिइरहने ?’, सल्लाहकार थापाले उप–राष्ट्रपति पुन र सभामुख सापकोटालाई प्रश्न गरेका छन् ।

‘सरकारविरुद्ध विभिन्न अनुचित भेटघाट, गोप्य र रहस्यमय बैठकहरू आ–आफ्ना निवासमा आयोजना गरिरहने, यो के रवैया हो ?’, थापाले प्रश्न गर्दै भने, ‘राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबोधको कमी, अभाव र हैसियतको दुरूपयोगको समस्या नै देखिएको हो कि यो खासमा के हो ?’

उनको प्रश्न छ, ‘पद, जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताको संकटमा उपचार के हुन्छ ? सचेत नागरिक तहमा उठिरहेका गम्भीर प्रश्नहरू !’

शुक्रबार शीतल निवासमा भएको प्रदेश २ का प्रदेश प्रमुख राजेश झाको शपथग्रहण कार्यक्रमलाई उप–राष्ट्रपति पुन र सभामुख सापकोटाले बहिस्कार गरेका थिए ।

पुन र सापकोटाले बहिस्कार गरेपछि बालुवाटार आक्रोशित बनेको छ । पुन र सापकोटा तत्कालीन माओवादी कोटाबाट उप–राष्ट्रपति र सभामुख बनेका हुन् । उनीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति वफादार हुँदै आएका छन् ।

पुन र सापकोटाले बहिस्कार गरेपछि बालुवाटार आक्रोशित बनेको छ । बालुवाटारले धम्कीको शैलीमा पदीय मर्यादामा बस्नुपर्ने अन्यथा राजीनामा दिनुपर्ने घुमाउरो भाषामा भनेको छ ।

Published : Saturday, 2021 February 20, 7:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया