कांग्रेस नेता दाहालको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस ओखलढुंगाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको निधन भएको छ ।

नेता दाहालको शुक्रबार बिहान पौने दश बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विक्रम संवत २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर—४ मा जन्मिएका दाहाल विक्रम संवत २०७४ सालमा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा ओखलढुंगा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका थिए ।

स्व.दाहालले नेपाली कांग्रेसद्वारा संचालित विक्रम संवत २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यतित गरेका छन् ।

स्व.दाहाल राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरूमा संलग्न रहँदै आएका थिए ।

स्व.दाहालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

स्व.दाहालकी श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको शुक्रबार ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

स्व.दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको भूमिकाको देउवाले स्मरण गरेका छन् ।

देउवाले स्व.दाहालको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् ।

Published : Friday, 2021 February 19, 2:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया