कांग्रेसद्वारा जेष्ठ नागरिकलाई खोप दिन आग्रह, खरिद प्रक्रियाको पारदर्शिता माग

काठमाडौं । नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिले कम्युनिस्ट सरकारको कुव्यवस्थापन, चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामग्री खरिदमा भएको व्यापक भ्रष्टाचारको विरोध गरेको छ ।

कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महलते बिहीबार विज्ञप्ति जारी गरेर लकडाउन र निषेधाज्ञाका कारण आर्थिक र सामाजिक क्षेत्रमा भएको व्यापक प्रभावका कारण नागरिकहरूको जीवन अस्तव्यस्त हुँदा पनि सरकार गम्भीर नभएको जनाएका छन् ।

प्रभावहरूलाई न्यून गर्न राहत र सहयोग सम्बन्धी कार्ययोजना ल्याउन गरेको कांग्रेसको मागलाई पनि सरकारले वेवास्ता गरेको डा.महतले जनाएका छन् ।

सरकारले ल्याएको सीमित आर्थिक प्याकेज पनि कागजमा मात्रै रहेको उनले जनाएका छन् ।

‘भ्रष्टाचार र दुरुपयोग गर्ने माथि सम्बन्धित निकायहरूले कारवाहीको प्रक्रिया अगाडि बढाउन कुनै सक्रियता देखाएका छैनन् भने सरकार यी प्रवृत्तिमा संग्लन व्यक्तिहरुलाई झन् प्रोत्साहित गर्दैछ’, विज्ञप्तिमा भनिएको छ ।

‘अन्य देशहरूमा देखा परेको गम्भीर प्रकृतिको कोभिड—१९ नेपालमा प्रवेश गर्न सक्ने सम्भावनाप्रति नेपाल सरकार गम्भीर देखिएको छैन’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

कांग्रेसले कोभिडको नयाँ भेरिएन्ट नेपालमा प्रवेश हुन नदिनका लागि आवश्यक पर्ने सम्पूर्ण उपाय गर्न सरकारसँग माग गरेको छ ।

‘कोभिड—१९ विरुद्ध आम जनतालाई खोप लगाई स्थायी रुपमा यो प्रकोपलाई रोक्न सरकारले कुनै स्पष्ट कार्य योजना ल्याएको छैन’, डा.महतले भनेका छन् ।

‘छिमेकी राष्ट्र भारतबाट सहयोग स्वरुप प्राप्त १० लाख डोज खोपको वितरणमा सुस्पष्ट प्राथमिकता निर्धारण गरिएको छैन’, डा.महतले भनेका छन्, ‘अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी तथा संचारकर्मीहरूलाई खोपमा प्राथमिकता उपयुक्त हो । तर ज्येष्ठ नागरिकहरूलाई धेरै अगाडि प्राथमिकतामा राखेर खोप वितरण गर्नु पर्नेमा बल्ल अहिले आएर सरकारले त्यसलाई प्राथमिकतामा राखेको घोषणा गरेको छ ।’

‘सरकारले खोपको विश्वसनीयताको बारेमा यथेष्ट सूचना प्रवाह नगर्नाले खोप लगाउने बारेमा जन–आशंका कम भएको छैन भने खोपको वितरणमा पनि पहुँचका आधारमा जथाभावी बाढिएको खबरहरू आइरहेका छन्’, डा.महतले भनेका छन् ।

कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । ‘भविष्यमा पनि अन्य देश र संस्थाहरूबाट आउन सक्ने अनुदान खोप सहयोग र आवश्यकता अनुरुप खरीद गरी खोप ल्याउँदा ध्ज्इ को मापदण्ड पूरा गरेका खोपहरुलाई मात्र प्रयोग गर्न अनुमति दिन सरकारसँग नेपाली कांग्रेस माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘कोभिड—१९ लाई रोक्न आवश्यकता अनुरुप आम नागरिकहरूमा खोप पु¥याउने विस्तृत कार्ययोजना सार्वजनिक गर्न नेपाली कांग्रेस माग गर्दछ’, उनले भने, ‘खोप सम्बन्धी कार्ययोजनामा कुन–कुन स्रोतबाट आवश्यक खोप उपलब्ध हुने हो र ती स्रोतहरूबाट प्राप्त हुने खोप अनुदानमा आउने हो या खरिदबाट प्राप्त गर्नुपर्ने भए त्यसको पारदर्शी खरिद प्रक्रिया बारेमा पनि सरकारले आम जनतालाई विश्वासमा लिनु पर्दछ ।’

‘खोपको आवश्यक रेफ्रिजरेसन सहितको भण्डारण र त्यसको प्रभावकारिता सुनिश्चित गर्ने सबै उपायका साथ खोप कार्यक्रमको देशव्यापी कार्यतालिका र खोप प्राप्त गर्ने जनसंख्याको प्राथमिकता क्रमको विस्तृत विवरण सार्वजनिक गर्न समेत नेपाली कांग्रेस माग गर्दछ’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

‘आम जनतालाई सहज रुपमा खोप पहुँचमा ल्याउनका लागि निःशुल्क खोप पु¥याउन पनि माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2021 February 18, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया