महामन्त्रीज्यू १२ वर्ष भएछ कांग्रेसले खेलकुद भुलेको, भ्रष्ट कम्युनिस्टले सिध्याएः महर्जन

गोदावरी । नेपाली कांग्रेस खेलकुद विभागका सचिव एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले पार्टीले अब बन्ने सरकारमा खेलकुद मन्त्रालयको जिम्मेवारी लिनुपर्ने सुझाव दिएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुर क्षेत्र नं. १ ले बिहीबार गोदावरी नगरपालिकाको चापागाउँमा आयोजना गरेको प्रथम वीपी स्मृति फुटसल कप प्रतियोगितामा कांग्रसका युवा नेता महर्जनले विगत १२ वर्षदेखि कांग्रेसले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा ध्यान नदिएको बताए ।

‘अब कांग्रेसले खेलकुद मन्त्रीको जिम्मेवारी दिनुपर्छ र लिनुपर्छ’, उनले भने, ‘खेकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा कांग्रेसले आँखा नगाढेको लगभग १२ वर्ष भइसक्यो ।’

खेलकुद विभागका सचिव महर्जनले नेपालको प्रतिष्ठा भनेको यही खेलकुद रहेको बताए । उनले भने, ‘राष्ट्रको पहिचान भनेको पनि खेलकुद हो । खेलकुदले नै अन्तर्राष्ट्रियस्तरमा देशको पहिचान गराउँछ ।’

खेलकुद मन्त्रालय र खेलकुद परिषदमा भ्रष्टाचारले सीमा नाघेको महर्जनले बताएका छन् । ‘कम्युनिस्टको करीव दुईतिहाइको सरकार छ । मन्त्रीहरू भ्रष्टाचारमा लिप्त छन् । खेलकुदमा पनि भ्रष्टहरूको ठूलो जमात छ’, उनले भने, ‘खेलकुद मन्त्री भएर आउँछ खेलकुदको ज्ञाननै नभएको व्यक्ति । खेलकुद बुझेको छैन । पार्टीले मलाई खेलकुद मन्त्री बनाएर पठाएको भन्छन् ।’

‘मन्त्रीले नै खेलकुदसम्बन्धी म विज्ञ होइन भन्छ । खेलकुदसम्बन्धमा मलाई ज्ञान पनि छैन भन्छ’, महर्जनले भने, ‘पार्टीले जिम्मेवारी दिएर पठाएपछि तपाईहरूसँग मैले खेलकुदबारे सिक्नुपर्छ ।’
खेलकुदको गतिविधि सिक्नुपर्छ भन्ने खेलकुद मन्त्रीले खेलकुदको कसरी विकास गर्छ भनेर उनले प्रश्न उठाएका छन् ।

दुई वर्ष अगाडि पनि खेलकुदमन्त्री जगत विश्वकर्मा आएर स्मरण गर्न लायकको कुनै पनि काम गर्न नसकेको उनले आरोप लगाका छन् ।

‘म खेलकुदमा १२ वर्षको उमेरमा लागेको हुँ’, उनले भने, ‘मेरो नसा–नसामा खेलकुद भएकोले चासो राख्ने गरेको छु । कांग्रेसले खेलकुदलाई ध्यान नदिएको देख्दा चित्त दुख्छ ।’

‘०४६ पछि कांग्रेसको सरकार बन्यो । त्यस बेला खेलकुदमन्त्री बलबहादुर केसी हुनुहुन्थ्यो । उहाँले लभगभ १ हजार खेलाडी र प्रशिक्षकलाई रोजगारी दिएर जानुभयो ।’

‘अहिले पनि ८० प्रतिशत प्रशिक्षक र गेम प्लेयरहरू हाम्रै साथीहरू हुनुहुन्छ’, परिषदका पूर्वकोषाध्यक्ष महर्जनले भने, ‘परिषदको सदस्य सचिव कम्युनिस्टका व्यक्ति छन् । फस्ट, सेकेण्ड र थर्ड क्लास अधिकृत र कोच अधिकृतहरू हाम्रै साथीहरू हुनुहुन्छ ।’

‘हाम्रा साथीहरूलाई राजनीतिक पूर्वाग्रह राखेर दुर्गम क्षेत्रमा सरुवा गरिदिने । विभिन्न आरोप लगाएर कारबाही गर्ने । निलम्बन गर्ने काम भएको छ’, महर्जनले भने, ‘यो कुरा महामन्त्री डा.शशांक कोइरालाज्यूलाई स्मरण गराउन चाहन्छु । गम्भीर भएर यस विषयमा पार्टीले ध्यान देओस् ।’

नेता महर्जनले भनेका छन्, ‘भरखरै १३औँ साफ गेम भएको छ । त्यसमा राज्यको लगभग ५ अर्ब रकम दुरुपयोग भएको छ ।’

‘खेलकुद परिषदका सदस्य सचिव, मन्त्रीदेखि कर्मचारीहरूविरुद्ध अख्तियारमा चाङ्का चाङ उजुरी परेको छ । त्यसको पनि सुनुवाई भएको छैन ।’

‘देशमा कानून छैन । कम्युनिस्टले अहिले जे गरे पनि हुने भएको छ’, उनले भने, ‘कांग्रेसले केही पनि गर्न नहुने । आँखा त¥यो कि केश लाग्ने । यस्तो परिस्थिति छ ।’

कार्यक्रममा खेलकुद क्षेत्रमा र समाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याए बापत तरुण विभागका केन्द्रीय सदस्य एवम् पूर्व राष्ट्रिय खेलाडी पासङ नुर्बु शेर्पालाई प्रमुख अतिथि एवम् नेपाली कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

फुटसल प्रतियोगिाताको प्रथम हुने टिमले ७५ हजार नगदसहित ट्रफी पाउनेछ । दोस्रो टिमलाई ५० हजार र तेस्रो हुने टिमले २५ हजार पाउनेछ ।

बेष्ट प्लेयर खेलाडीले ५ हजार, बेष्ट किपरले ५ हजार र बेस्ट डिफेण्डरले ५ हजार नदगको पुरस्कार पाउनेछन् ।

Published : Thursday, 2021 February 18, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया