ओलीलाई बुरुक–बुरुक उचाल्ने को ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्नो उदेश्यमा लागेका छन् । झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि ओलीले संसद भङ्ग गरेका छन् । उनले नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गरेका छन् । आमसभाहरू गर्दै हिँडेका छन् । ती आमसभामा ओलीले नेपाली कांग्रेसलाई गाली गरेका छैनन् । कांग्रेसका विरुद्ध एउटा शब्द पनि लिएका छैनन् । कांग्रेसको नामै लिँदैनन् ।

बरु पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपालले कांग्रेसलाई गाली गर्न थालेका छन् । सडकमा पुगेका प्रचण्ड–माधव समूहले संसद पुनःस्थापनाको आन्दोलनमा सहयोग गरेन भनेर गाली गर्न थालेका छन् । प्रधानमन्त्री र नेकपाको अध्यक्ष बन्न ओलीलाई असहयोग गर्दै आएका प्रचण्ड–माधव समूहले कांग्रेसको साथ खोजेका छन् । कांग्रेसले प्रचण्ड–माधवलाई अध्यक्ष र प्रधानमन्त्री बनाउन उनीहरूसँग आन्दोलन गर्ने पक्षमा छैन ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रचण्ड–माधवलाई प्रधानमन्त्री र अध्यक्ष बनाउन कांग्रेसले सडकमा संयुक्त आन्दोलन नगर्ने बताएका छन् । उनले कम्युनिस्टहरू मिल्न नसक्दा व्यक्तिगत स्वार्थमा पार्टी विभाजन गरेको बताए । उनले झण्डै दुईतिहाइको बहुमत रहेको संसद नै भङ्ग गरेर सडकमा तमासा देखाएको आरोप लगाएका छन् ।

संसद भङ्ग गर्न ओली जति दोषी छन् त्यति नै दोषी प्रचण्ड–माधव पनि छन् । कांग्रेसले ओली वा प्रचण्ड–माधवलाई साथ दिँदैन । दिनु पनि हुँदैन भनेर आवाज उठेका छन् । कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले ओली वा प्रचण्ड–माधवलाई कांग्रेसले साथ नदिने बताइसकेका छन् । उनीहरू बराबर दोषी रहेको बताएका छन् ।

ओलीले तीन वर्षको समयमा काम गर्न सकेनन् । काम गर्न नसकेपछि प्रधानमन्त्री पद गुम्ने अवस्था आएपछि संसद भङ्ग गरेका छन् । ओलीले कम्युनिस्ट अधिनायकवादमा आफूलाई केन्द्रित बनाएको आरोप कांग्रेसको छ । ओलीले आफ्ना विरोधीहरूलाई दीग्भ्रमित बनाइरहेका छन् ।

आफ्ना सार्वजनिक कार्यक्रमहरूबाट विभिन्न खालका एजेण्डा फल्ने गरेका छन् । ओलीले फल्ने एजेण्डालाई प्रचण्ड–माधव समूह र कांग्रेसले खण्डन गर्दै आएका छन् । ओलीले लोकतन्त्रलाई बलियो हुन दिने बाटोमा छैनन् । उनले आफूलाई बलियो अवस्थामा राखेर सत्ता चलाउन चाहेका छन् ।

ओलीले संसद भङ्ग गरेको विषयमा भारत र चीनले प्रतिक्रिया दिएका छैनन् । भारतले नेपालमा संसद पुनःस्थापना नहोस् भन्ने पक्षमा छ । चीनले नेपालमा आफ्नो पकड भइरहोस् भन्ने चाहेको छ । संसद पुनःस्थापना गरेर चीनले कम्युनिस्टहरूलाई मिलाउन चाहेको छ । प्रधानमन्त्री ओली कसैको पनि सुन्ने पक्षमा छैनन् । ओलीले भारतलाई साथ दिएको आरोप छ । भारतकै दवावमा ओलीले संसद भङ्ग गरेको चर्चा भइरहेका छन् ।

ओलीलाई सहि ठाउँमा ल्याउने भनेको निर्वाचन हो । ओलीका नेताहरू निर्वाचनको पक्षमा अभिव्यक्ति दिँदै आएका छन् । ओलीका उप–प्रधानमन्त्री ईश्वर पोखरेलले उट्पट्याङ अभिव्यक्ति दिन थालेका छन् । पोखरेलले ओलीको चाकढी गर्न पत्रकारहरूलाई गाली गर्न समेत भ्याएका छन् ।

उनले ओलीलाई झन् निरंकुश बनाउने बाटोमा आफूलाई केन्द्रित बनाएका छन् । कम्युनिस्टहरू सुध्रिने संकेत गरेका छैनन् । झन् निरंकुश बन्ने बाटोमा छन् । ओलीलाई निरंकुशताको बाटोमा लैजान पोखरेल जस्ता आधा दर्जन नेताहरूले उचालेको आरोप छ ।

Published : Thursday, 2021 February 18, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया