स्व.बलबहादुर राईको आदर्श देशभरिको कांग्रेसले बोक्नुपर्छः खतिवडा

पलापु । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले स्व.बलबहादुर राईको जीवनको अनुसरण गर्नुपर्ने बताएका छन् ।

चम्पादेवी गाउँपालिका– १ पलापुमा स्व.बलबहादुर राईको १००औँ जन्मदिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले ओखलढुंगाको विकासमा स्व.राईको ठूलो योगदान रहेको बताए । उनले ओखलढुंगाले मात्र नभइ स्व.बलबहादुर राईलाई कांग्रेसले आदर्शका रुपमा देशभरि लिनुपर्ने बताए ।

‘बलबहादुर राई पटक–पटक कार्यबाहक प्रधानमन्त्री बन्नुभयो । उहाँमा कहिल्यै पनि घमण्ड थिएन र भएन’, खतिवडाले भने, ‘स्व.बलबहादुर राई सादा जीवनको अनुसरण गर्नुपर्छ ।’

बलबहादुर राईले प्रतिनिधि सभामा जितेपछि ओखलढुंगाको विकास हुन शुरु भएको खतिवडाले बताए । उनले भने, ‘ओखलढुंगामा १५ वर्षसम्म कम्युनिस्टले जिते विकास हुन सकेन । विद्यालय बनाउन, सडक बनाउन, विजुली ल्याउन, पुल बनाउन कांग्रेस आउनु पर्‍यो ।’

कांग्रेस नेता खतिवडाले स्व.बलबहादुर राईले कहिल्यै पनि जातजातिको राजनीति नगरेको बताए । ‘बलबहादुर राईले कहिल्यै पनि जातजातिको राजनीति रुचाउनु भएन’, उनले भने, ‘स्व.राईले सबैलाई जातजातिको राजनीति नगरौँ भनेर सुझाव दिनुभयो ।’

खतिवडाले व्यक्ति होइन कांग्रेस पार्टी बनाउनुपर्ने बताएका छन् । ‘कांग्रेस रह्यो भने मात्रै व्यक्ति रहन्छ । पहलिा कांग्रेस बलियो बनाऔँ’, उनले भने, ‘मेरो टिम र म भनेर कोही आउँछ भने त्यसलाई स्वीकार गर्नु हुँदैन । त्यो भनेको व्यक्तिवादी कुरा हुन्छ । पार्टी बलियो बनाउन आउँछ भने सहयोग गर्नुपर्छ ।’

खतिवडाले झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि कम्युनिस्टबाट मुलुक निर्माण हुन नसकेको बताए । ‘कम्युनिस्टले काम गर्न नसकेर संसद विघटन गरेर हाँसो फैलाएर फेरि भोट माग्न आउँदै छन्’, उनले भने, ‘जनतासँग कुन मुखले भोट माग्छन् ?’

निर्वाचनमा जित र हार हुने बताएका खतिवडाले भने, ‘नानी मैया दाहाललाई जिताएर कृष्णप्रसाद भट्टराई पराजित भएको इतिहास छ ।’

‘केपी ओलीलाई हराउने विश्वदीप लिंगदेन कांग्रेसमा बल्ल साधारण सदस्यता लिएर आउनुभएको छ’, उनले भने, ‘ओखलढुंगामा कांग्रेसलाई हराएका कम्युनिस्टका साथीहरू नेकपा छाडेर कांग्रेसको सदस्यता माग्न आउने छन् ।’

खतिवडाले ओलीका कारण प्रचण्ड सडकमा रोएर हिँडेको बताएका छन् । ‘ओली र प्रचण्ड रुने दिन आउँछ’, उनले भने, ‘त्यो दिन कांग्रेसले देशमा विकास गरेको हुनेछ ।’

खतिवडाले पलापुमा एक वर्षभित्र घरघरमा विजुली बाल्न विद्युत प्राधिकरणसँग आग्रह गरेको बताएका छन् ।

कार्यक्रममा कांग्रेस नेताहरू रुद्र अधिकारी, नवराज केसी, नवीन राई, भीम गौतम, नीरबहादुर मगर, कुलबहादुर श्रेष्ठ, विष्णु पुलामी, नन्दबहादुर पुलामी, विष्णु मगरलगायतको उपस्थिति रहेको थियो ।

मोलीमा कांग्रेस नेता स्व.बलबहादुर राईको गाउँ पर्छ । यो गाउँ कांग्रेसको किल्लाका रुपमा स्थपित छ ।

Published : Wednesday, 2021 February 17, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया