मतभेद भुलेर जाँदा कम्युनिस्टलाई परास्त गर्न सक्छौँः कांग्रेस नेता खनाल
घोराही । नेपाली कांग्रेसका युवा नेता पूर्वसांसद राजु खनालले मुलुकको परिस्थिति फेरिएको भन्दै पार्टीका साथीहरूबीच रहेका सानातिना मतभेदहरू अन्त्य गरेर जानुपर्ने बताएका छन् ।
दाङको बंगलाचुली गाउँपालिका– २ गहतेरामा बुधबार आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संगठन विभागका केन्द्रीय सदस्य समेत रहेका नेता खनालले मतभेदहरू अन्त्य गरेर निर्वाचनमा जानुपर्ने बताए ।
‘मबाट गल्ती भएका छन् भने मैले सुधार गर्नुपर्छ’, उनले भने, ‘कांग्रेसभित्रको आन्तरिक मतभेदलाई समाधान गर्न सक्यौँ भने कांग्रेसलाई कसैले हराउन सक्दैन ।’
नेता खनालले सरकारले वैशाखमा निर्वाचन गर्छु भनेकोले कांग्रेसले आफूलाई तयारी अवस्थामा राख्नुपर्ने बताए ।
‘वैशाखमा निर्वाचन हुन सक्छ । निर्वाचन भयो भने जानैपर्छ’, खनालले भने, ‘संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले छिटो फैसला आयो भने कांग्रेसलाई तयारी गर्न सजिलो हुने थियो ।’
बंगलाचुली गाउँपालिकाको विकास र स्थानीय जनताको समस्यालाई समाधान गर्न कांग्रेसले नेतृत्व लिने उनले बताएका छन् । खनालले कुनै समस्या परे आफूलाई सम्पर्क राख्न नेता कार्यकर्तासँग आग्रह गरेका छन् ।
स्थानीय तहलाई कांग्रेसले अधिकार दिएको उनले बताए । ‘गाउँपालिकामा पार्टीका साथीहरूलाई राख्न सकिन्छ । नयाँ विधानले स्थानीय तहलाई अधिकार दिएको छ’, उनले भने, ‘साथीहरूलाई व्यवस्थान गर्न समस्या छैन । हामी आफैले मिलाउन सक्छौँ । त्यसमा मेरो साथ र सहयोग रहन्छ ।’
देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको नेता खनालले बताएका छन् ।
‘कम्युनिस्टले सबैलाई पीडित बनाएको छ । म बजारमा बस्ने मान्छे समेत पीडित छु । गाउँका जनतालाई झन् पीडित बनेका छन्’, कांग्रेस नेता खनालले भनेका छन् ।
‘कम्युनिस्टलाई परास्त गर्ने दिन आएको छ’, उनले भने, ‘कांग्रेसलाई जनताले खोजेका छन् । कांग्रेसले भेदभाव नगरेर विकास गर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया