बन्दीपुरको श्री शिव माविले मनायो स्वर्ण जयन्ती, कांग्रेसका भट्टराईद्वारा सहयोग गर्ने प्रतिवद्धता

बन्दीपुर । तनहुँ जिल्लाको बन्दीपुर– ३ सेराटारमा रहेको श्री शिव माध्यामिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ ।

विद्यालय स्थापना भएको ५० वर्ष पूरा भएको अवसर पारेर विद्यालयले मंगलबार स्वर्ण जयन्ती मनाएको प्रधानाध्यापक दीपबहादुर खत्रीले जानकारी दिए । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको प्रमुख आतिथ्यतामा स्वर्ण जयन्ती मनाइएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य भट्टराईले विद्यार्थीलाई पढाइमा ध्यान दिन आग्रह गरेका छन् । उनले कम्युनिस्टहरूले शिक्षालाई भन्दा पनि आफ्नो राजनीति र व्यक्तिगत स्वार्थ ध्यान दिने गरेको बताए ।

विगतमा माओवादीहरूले कथित जनयुद्धका नाममा जनताका छोराछोरीहरूलाई बन्दुक बोकाएर बुर्जुवा शिक्षा भनेर लाखौँ विद्यार्थीको भविष्य अन्धकार बनाइदिएको कांग्रेस नेता भट्टराईले बताएका छन् । ‘शिक्षाभन्दा ठूलो कुरा केही छैन’, उनले भने, ‘विद्यार्थीले पहिला राम्रोसँग पढ्नुस् । यो विद्यालयलाई के सहयोग चाहिन्छ म सक्दो सहयोग गर्न तयार छु ।’

नेता भट्टराईले विद्यालयमा प्लस टु अध्ययनका लागि कृषि शिक्षा विषय थप गर्न सहयोग गर्ने आश्वासन दिएका छन् । उनले एक वर्षभित्र कृषि शिक्षाको सम्बन्धनका विद्यालयमा आउने बताएका छन् ।

कांग्रेस नेता भट्टराईले विद्यालयलाई खानेपानीको व्यवस्था गरिदिएका थिए । विद्यार्थीलाई विद्यालयमा खानेपानीको समस्या थियो । भट्टराईकै पहलमा पानीको व्यवस्था भएपछि विद्यार्थी र शिक्षक कर्मचारी खुसी छन् ।

प्राथमिक विद्यालयका रुपमा यो विद्यालय २००२८ सालमा स्थापना भएको थियो । त्यसपछि निम्न माध्यामिक र माध्यामिक विद्यालयका रुपमा स्थापना भएको थियो ।

विद्यालयले दीर्घ सेवा सम्मानबाट शिक्षक सुन्दरमान कुँवरलाई सम्मान समेत गरेको छ । कुँवरले विद्यालयमा ३८ वर्ष सेवा गरेका छन् ।

कार्यक्रममा सुरेश भट्टराई, ध्रुवलाल प्रधान, दीपक भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयमा यसअघि स्थापना भएको एक लाख १ हजारको अक्षय कोषमा समाजसेवी ध्रुबकुमार श्रेष्ठले एक लाख ५० हजार थपेर दुई लाख ५१ हजार पु¥याइदिएको प्रधानाध्यापक खत्रीले बताए ।

विद्यालय सञ्चालनका लागि स्व.दामोदर उपाध्याय, स्व.गोपीनाथ उपाध्याय, विष्णुप्रसाद भट्टराई मधुविलास भट्टराई, ओमप्रकाश भट्टराई, सोमप्रकाश भट्टराई र नरबहादुर खत्रीले जग्गा दिएका थिए ।

Published : Tuesday, 2021 February 16, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया