नेता कार्यकर्ताहरूसँग कांग्रेस खुसीले गदगद, देउवाले दिए धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसले सोमबार देशभरि भएको विरोध प्रदर्शनमा सहभागी भएका कार्यकर्ताहरूलाई धन्यावाद दिएको छ ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेर नेता कार्यकर्ताहरूको जनसहभागिताप्रति खुसी व्यक्त गर्दै अभार प्रकट गरेका हुन् । उनले आगामी दिनमा हुने आन्दोलनमा सहयोगको अपेक्षा गरेका छन् ।

‘संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ७७ वटै जिल्लाहरूमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरूले आयोजना गरेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘प्रदर्शनले केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको छ’, देउवाले भनेका छन् ।

‘प्रदर्शनमा सहभागी सबै दिदीबहिनी—दाजुभाइमा नेपाली कांग्रेस पार्टीका तर्फबाट आभार प्रकट गर्दछु’, देउवाले भने, ‘प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने जिल्ला कार्यसमितिका साथीहरू, भ्रातृ एवं शुभेच्छुक संघका साथीहरूसंगै पार्टीको सबै तहका आदरणीय साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक संजाल मार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा बधाई ज्ञापन गर्दछु ।’

‘कार्यक्रम घोषणा भएदेखि समापन हुँदासम्म निरन्तर समाचार सम्प्रेषण गर्नुहुने आदरणीय पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछु’, उनले भनेका छन् ।

Published : Monday, 2021 February 15, 11:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया