कांग्रेस सिध्याउँछु भन्ने ओली–प्रचण्ड आफै सक्किए, राष्ट्रपतिजी मयार्दामा बस्नुस्ः सरिता प्रसाइँ

भरतपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाकी पूर्वप्रमुख सचेतक सरिता प्रसाइँले जंगलबाट शान्ति प्रक्रियामा ल्याएको कांग्रेसलाई धोका दिँदा प्रचण्ड सडकमा पुगेको टिप्पणी गरेकी छिन् ।
चितवनको भरतपुरमा सोमबार नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रसाइँले छोरी जिताइसकेपछि कांग्रेसलाई धोका दिएको फल प्रचण्डले पाएको बताइन् । उनले प्रचण्डले संयुक्त आन्दोलन गर्न गरेको प्रस्ताव सिधै अस्वीकार गरिदिएकी छिन् ।
‘प्रचण्डजी फर्केर हेर्नुस् ईतिहाँस । जंगलमा बसेर मान्छेहरू काट्ने अराजक स्थितिमा जाँदा शान्ति सम्झौता गरेर तपाईलाई संसदको भवनभित्र हुल्ने कांग्रेस थियो’, नेतृ प्रसाइँले भनेकी छिन् ।
‘कांग्रेसले नै जनताले भोट दिन्छ भनेर सरकार चलाउनुस् भनेर ल्याएका थियौँ’, नेतृ प्रसाइँले भनेकी छिन्, ‘कांग्रेस चुनाव हार्छ भन्ने जान्दाजान्दै चुनाव ग¥यौँ । तपाईहरूले जित्नुभयो । संविधान बनाउन सक्नुभएन । कम्युनिस्टका चार–चार वटा प्रधानमन्त्री बनाउनुभयो ।’

संविधान बन्न कांग्रेस ठूलो पार्टी बनेर आउनु परेको उनले बताएकी छिन् । ‘सुशील कोइरालाको पालामा संविधान बनायौँ’, उनले भनेकी छिन्, ‘कांग्रेसले देशलाई संविधान दियो । कम्युनिस्टले बहुमत पाउँदा पनि संविधान बनाउन सकेनन् । सत्ताको खेलमा मात्रै लागे ।’
‘प्रचण्डजी तपाईले गल्ती गरिरहने तपाईलाई जनताले स्वागत गरिराख्नुपर्ने ?’, उनले प्रश्न गर्दै भनेकी छिन्, ‘प्रचण्डले गल्ती गर्दै जाने । कांग्रेसले साथ दिएर सडकमा आउनुपर्छ भन्ने छैन ।’
‘कांग्रेसले मेयरमा तपाईको छोरीलाई जिताएको हो । केपी ओलीसँग मिलेर कांग्रेसलाई धरातलमा पु¥याउछु भन्नुभयो प्रचण्डजी । अहिले को धरातलमा पुग्यो ?’, नेतृ प्रसाइँले प्रश्न गर्दै भनेकी छिन्, ‘कांग्रेस भनेको सिद्धान्त र आदर्श बोकेको पार्टी हो । मुलुकलाई समस्या पर्दा कांग्रेसले निकास दिन्छ । कांग्रेस सिद्धाउँछु भन्नेहरू आफै सिद्धिएका छन् ।’

‘तपाई कम्युनिस्टहरूले संसद भङ्ग गर्ने, धोका दिन, कांग्रेससँग मिलेर आनेलन गर्ने भन्ने ?’, उनले भनेकी छिन्, ‘प्रचण्डकी छोरी रेणुले जय नेपाल भनेर भोट माग्नुभयो । जनु पार्टीले तपाईलाई त्याहाँ पु¥यायो । त्यहाँ जानुभयो । त्यो पार्टीर्लाइ पनि बेहाल बनाउनुभयो ।’
‘सभापति शेरबहादुर देउवालाई फाकाएर प्रचण्डले छोरी जिताउनुभयो । प्रचण्ड र ओली मिलेर संसद भङ्ग गर्नुभयो’, उनले भनेकी छिन्, ‘एकलौटी सरकार चलाउन झण्डै दुईतिहाइको बहुमत दिँदा पनि सरकार चलाउन नसक्ने ओलीजी तपाईलाई अब के दिने ? भोट माग्न लाज लाग्दैन ?’
संसद भङ्ग गरेर प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीहरू एउटाले अर्कोलाई भ्रष्टाचारी, दलाल भनेर आरोप प्रत्यारोप गरेको उनले बताएकी छिन् ।

ओलीले मान्छे मारेको अभियोगमा प्रचण्डलाई जेल हाल्न सुझाव दिएकी छिन् । ‘पाँच हजार मारेको मान्छेलाई जेल हालेर देखाउनुस् ओलीजी’, प्रचण्डतिर संकेत गर्दै प्रसाइँले भनेकी छिन्, ‘दुई कठठ जग्गा भएको प्रचण्ड तामझामका साथ बस्न लाज लाग्दैन ?
राज्यको ढुकुुटी सकेर ओलीले आमसभा गरेर भाषण गर्दै हिँडेको नेतृत्व प्रसाइँले विरोध गरेकी छिन् । ‘संसद भङ्ग गरेर गाडीमा मान्छे बोकेर आमसभा गर्न लाज लाग्दैन ओलीजी ?’, उनको प्रश्न छ ।

आन्दोलन गर्न सडकमा पुगेर प्रचण्ड–माधव नेपालले ‘हामी यता छौँ’ भनेर प्लेकार्ड देखाएको पनि उनले विरोध गरेकी छिन् ।
उनले जनताले सरकार चलाउन दिएको म्याण्डेटलाई अपमान नगरेर काम गर्नु ओली–प्रचण्डलाई सुझाव दिएकी छिन् ।
जथाभावी गर्न थालेमा ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट तानेर सडकमा ल्याउने नेतृ प्रसाइँले चेतावनी दिएकी छिन् ।

राष्ट्रपति विद्यदेवी भण्डारीलाई मर्यादामा बस्न उनले सचेत गराएकी छिन् । ‘महिला बलात्कार हुँदा राष्ट्रपतिको मुख टालिएको छ । कोरोनाको महामारीका बेला दलका नेताहरूलाई बोलाएर वार्ता गरेर कुनै काम गर्नु भएन’, कांग्रेस नेतृ प्रसाइँले भनेकी छिन्, ‘नेकपाको झगडा हुँदा ओली र प्रचण्डलाई वार्ता गराउने तपाईलाई राष्ट्रपति बनाएको हो ?’
‘राष्ट्रपति भण्डारीजी सुध्रिनुस् । सम्माननीय भएर बस्नुस्’, उनले भनेकी छिन्, ‘शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला राष्ट्रिय सभामा तीन जना मनोनीत गर्न सिफारिस गर्दा रोक्नुभयो । आखिर रोक्न त मिल्दो रहेछ नि ? संसद विघटनको सिफारिस पनि रोकेको भए हुँदैन थियो ?’
हजारौँको सहभागिता रहेको विरोध सभा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको सभापतित्वमा भएको थियो । सभामा केन्द्रीय सदस्य गगन थापाको पनि सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया