कांग्रेस चुनावबाट पुच्छर लुकाएर भाग्दैन, जितेर देखाउँछौँः खतिवडा

मोलुङ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेस निर्वाचनबाट पुच्छर लुकाएर भाग्ने पार्टी नभएको बताएका छन् ।

गृहजिल्ला ओखलढुंगाको मोलुङ गाउँपालिकाको प्राप्चामा सोमबार नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै खतिवडाले चुनाव भयो भने कांग्रेस सबै शक्ति प्रयोग गरेर सहभागी हुने बताए । उनले नेता कार्यकर्ताहरूलाई चुनावका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।

संसद विघटनसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको बताएका खतिवडाले अदालतलाई संवैधानिक ब्याख्या गर्ने अधिकार संविधानबाटै दिएकाले अदालतको अन्तिम फैसलालाई कांग्रेसले स्वीकार गर्ने बताए ।

‘संसद विघटन भएको विषय सर्वोच्च अदालतमा विचाराधीन छ । संविधानको ब्याख्या अधिकार अधिकार सर्वोच्च अदालतलाई मात्रै छ । केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड वा शेरबहादुर देउवालाई छैन’, यवा नेता खतिवडाले भने, ‘सर्वोच्च अदालतले चुनाव गर्न भन्यो भने कांग्रेस पुच्छर लुकाएर भाग्ने वाला छैन । चुनावमा गएर कांग्रेस पहिलो पार्टी बन्छ ।’

‘कम्युनिस्टको सरकार हेरेका छौँ । चुनवाका बेला घरमा पाँच हजार दिने भनेका थिए’, उनले भने, ‘कम्युनिस्ट भनेका झुट बोल्ने हुन् । जनताको काम गर्दैनन् ।’

ओखलढुंगाबाट निर्वाचित भएका नेकपाका तत्कालीन सांसद विकास गर्न नसकेर पिङको उद्घाटन गर्दै हिँडेको खतिवडाले आरोप लगाए ।

‘ओखलढुंगामा आउन नयाँ सीडीओ र डीएसपीलाई नेकपाका तत्कालीन सांसदले मोलङ– एकवारको सडक हेर्न जाने गर्नेभन्दा अरु केही काम भएन’, खतिवडाले भने, ‘एक्लै जाँदा जनताले कालोमोसो लगाइदिन्छन् कि भनेर होला नेकपाका सांसदले डीएसपी र सीडीओलाई लिएर हिँड्नुभयो ।’

कांग्रेस नेता खतिवडाले भने, ‘मोलङ–एकवारको बाटा बनेन भने कि हामी हुँदैनौँ । कि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हुँदैनन् ।’ ओखलढुंगामा बन्ने प्रदेश १ कै सबैभन्दा लामो पुल बनाउन आफूले तत्कालीन सचिव दिनेश थपलियालाई अनुरोध गर्दा योजना पारिदिएको प्रशंगा कोट्याएका खतिवाडाले भने, ‘ओखलढुंगाबाट जितेर गएका नेकपाका सांसदले अहिले त्यो पुल नबनाइदिनु । कांग्रेसले जस लिन्छ भनेर रोक्नुभए । हाइड्रोको पत्र चाहिन्छ भन्न लगाउनुभए छ ।’
उनले ओखलढुंगा मात्रै होइन देशभरिका विकास कांग्रेसले मात्रै गर्नेभन्दै कम्युनिस्टले तीन वर्षमा हात उठाइसकेको बताए ।

‘तीन वर्ष सरकार चलाउन नसकेर ओलीले संसद विघटन गर्नुभएको छ’, उनले भने, ‘कांग्रेसले सरकार चलाउन सहयोग गर्दा पनि कम्युनिस्टले पार्टीभित्र मिलाउन नसकेर संसद भङ्ग गरेका छन् । दुःखका साथ भन्नुपर्छ कम्युनिस्टलाई अबको निर्वाचनमा पत्तासाफ बनाएर लखेट्नुपर्छ ।’

खतिवडाले कांग्रेसले जितेको एक वर्षभित्र ओखलढुंगाको ७५ वटै वडामा बिजुली बाल्ने घोषणा समेत गरेका छन् ।

कम्युनिस्टले तीन वर्षमा मुलुकलाई अराजकता, भ्रष्टाचार, कुशासन मात्रै दिएको बताए । ओली सरकारले मुलुकमा बेरोजगार पैदा गरेको भन्दै कम्युनिस्ट सरकारका पालामा लगानीको वातावरण बिग्रिएको आरोप लगाए ।

अबको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित रहेको उनले बताए । ‘कांग्रेसका नाममा बदमासी गर्नेलाई माया गरिँदैन । जसले कांग्रेसलाई धोका दिन्छ, त्यसलाई ठाउँको ठाउँ कारबाही गर्नेछौँ’, उनले भने, ‘ओखलढुंगामा कम्युनिस्ट डरायो, कांग्रेसको झण्डा फहरायो, फहरायो ।’

प्रचण्डलाई बुहारी र माधव नेपाललाई आफ्ना मान्छे मन्त्री बनाउन तीन वर्षसम्म भागबण्डा गरेर बसेको बताएका खतिवडाले स्वार्थ मिल्न छाडेपछि संसद भङ्ग गरेको उल्लेख गरेका छन् ।

‘बुहारी र आफ्ना मान्छे मन्त्री बनाउन ३ वर्ष मिल्नुभयो । भागबण्डा मिलेन । संसद भङ्ग गर्नुभयो । ओलीजी प्रचण्ड–माधवको धोती खोल्न लाग्नुभएको छ । प्रचण्ड–माधवहरू ओलीको धोती खोल्न लागेका छन् । जनतालाई नाङ्गो बनाउने कम्युनिटलाई नाङ्गै बनार लखेट्नुपर्छ ।’

ओलीको कम्युनिस्ट सरकारविरुद्ध भएको विरोध सभामा हुनुभन्दा अगाडि भएको जुलुसमा हजारौँ कार्यकर्ता सहभागी भएका थिए ।

ओखलढुंगा कांग्रेसका सभापति प्रदीपकुमार सुनुवारले कम्युनिस्टहरूको पतन शुरु भएको बताए । उनले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले विरोध गरिरहने बताए ।

कार्यक्रममा ओलखढुंगा कांग्रेसका सभापति सुनुवार, नेताहरू तेजेन्द्र खानल, खिलानाथ दाहाल, बालकृष्ण दाहाल, डिल्लीराम खनाल, नवराज केसी र रुद्र अधिकारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 February 15, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया