पोखरामा पूर्वयुवराज पारस र चर्चित पत्रकार लामिछानेबीच गोप्य भेट

पोखरा । तेह्र वर्ष अगाडि राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि नागरिक भएका ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाह बेला मौकामा चर्चामा आइरहन्छन् । पारस शाह त कहिले बैंककमा कन्निका नामक युवतीसँगको रोमान्सका कारण चर्चामा आएका थिए भने पछि तिनै युवतीबाट छुटकारा पाउन उनलाई हम्मेहम्मे परेको समाचार पनि आयो ।

पछिल्ला दिनमा पोखरामा सोनिका रोकाय नामक युवतीसँग उनको अफेयर पनि निकै भाइरल बन्यो । सोनिकासँगको अफेयरपछि पारस बेलाबेलामा पोखरा गइरहन्छन् । हिन्दूराज्यसहितको राजा राख्नुपर्ने परिकल्पनाकार कमल थापाहरु समेत पारसका यी गतिविधि र हुलिया देखेर वाक्कदिक्क हुने गरेका छन् ।

केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजावादीहरु यसलाई स्वर्ण मौकाका रुपमा उपयोग गर्दै हिन्दूराज्य र राजा फर्काउने दिवा सपना देखिरहेका छन् ।

ज्ञानेन्द्र र पारस पनि पछिल्ला दिनमा केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गणतन्त्र धरापमा परेकाले पुनः सिंहासन प्राप्त हुन्छ कि भन्ने आशामा सुषुप्त गतिविधि गरिरहेका छन् ।

पारस शाहले करिब १२ दिन अगाडि पोखरामा चर्चित पत्रकार रवि लामिछानेलगायतसँग वार्ता गरेका छन् । पोखराको वैदाम लेकसाइडस्थित एक रेस्टुरेन्टमा भएको उक्त वार्तामा के कुराकानी भए भन्ने कुरा चाहिं थाहा हुन सकेको छैन । तर उक्त रेस्टुरेन्टको एक हल सुरुमा चर्चित पत्रकार रवि लामिछानेको टोलीबाट बुक भएको थियो ।

त्यसको केही बेरपछि उक्त रेस्टुरेन्टमा सोही हल पारस शाहका सुरक्षाकर्मीले मागेपछि सञ्चालक अप्ठेरोमा परे । उनले पत्रकार रवि लामिछानेलाई त्यो हल दिइसकेकाले दिन असमर्थता जनाए । पारसका सुरक्षाकर्मीले रवि लामिछानेसँग नै भेट गर्ने कार्यक्रम रहेको भनेपछि रेस्टुरेन्ट सञ्चालक पारसको टोलीको सम्भावित त्रासबाट मुक्त भए ।

पत्रकार लामिछानेले पहिले नै उक्त हल बुक गरेको जानकारी गराए । स्रोतका अनुसार, साँझपख पारस शाह र रवि लामिछाने बिच करिब १ घण्टा वान टु वान वार्ता भएको थियो । तर रवि लामिछानेले सुरुमा पारस शाहसँग पोखरामा भेट भएको कुरा स्वीकार्न मानेनन् । पछि रेस्टुरेन्टमा भेट भएको हो तर वान टु वान वार्ता भएको होइन भन्ने दावी गरे ।

पारससँग भेट हुँदा १०/१२ जना व्यक्ति सँगै रहेको रविले बताए । योजनावद्ध रुपमा पारससँग भेटेको कुरा उनले ठाडै अस्वीकार गरे । उनले भने, ‘पारससँग संयोगवश भेट भएको हो । जो कसैसँग पनि भेट हुनु ठूलो कुरा होइन ।’ तर स्रोत भन्छ, योजनावद्ध रुपमा पारसले रविलाई भेटेका हुन ।

पत्रकार रवि लामिछाने न्यूज २४ टिभीको चर्चित कार्यक्रम सीधा कुरा जनतासँगबाट अलग भएपछि विभिन्न जिल्लाका भ्रमणमा व्यस्त छन् । यसै सन्दर्भमा उनी २०७७ माघको दोस्रो हप्ता पोखरा पुगेका थिए । पारस पनि पोखरामै भएको बेला उनीहरूबीच भेटघाट भएको सुरक्षा श्रोत बताउँछ । रवि लामिछाने नयाँ टिभी नै सञ्चालन गर्ने तयारीमा रहेको बताइन्छ ।

पारस शाहसहितको सुरक्षाकर्मीको टोली मोडिफाई गरी चर्को आवाज निकाल्ने मोटरसाइकल चलाएपछि फेवातालमा प्रहरीको चेकिङमा परेको थियो । चेकिङका लागि रोकेपछि पारसका सुरक्षाकर्मीले प्रहरीलाई दुर्व्यवहार गरी फेवातालमा टाउको नै चोभ्न खोजेका थिए । युवराजबाट १३ वर्ष अघि पदच्यूत भएका पारस शाहले अहिले पनि पुरानै शैलीमा सेनाका सुरक्षाकर्मी राखेर प्रहरीमाथि दुव्र्यवहार गर्दै आएका छन् । (साँघु साप्ताहिकबाट साभार)

Published : Monday, 2021 February 15, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया