ओली सरकारको हर्कतविरुद्ध युवाहरूका लागि कांग्रेसद्वारा ‘भिटो पावर’ प्रयोग

काठमाडौं । नेपाली कांग्रेसले खड्गप्रसाद ओली नेतृत्वको कामचलाउ कम्युनिस्ट सरकारले सामाजिक संजाल ब्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै विरोध जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारद्वारा सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेपछि विज्ञप्ति जारी सामाजिक सञ्जाल व्यवस्थापनका नाममा हुने कुनै पनि प्रकारको निरंकुशता सहन नसक्ने जनाएका छन् । उनले सजग बन्न युवा पुस्तालाई विशेष अपील गरेका छन् ।

सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेको भन्दै शर्माले सोमबार विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् ।

‘सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर, त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान छंदैछन्’, कांग्रेसले भनेको छ ।

‘थप ब्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ’, शर्माले भनेका छन् ।

उनले भने, ‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरू जारी गर्न हुँदैन, मिल्दैन र पाइँदैन ।’

‘प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिंदै नेपाली कांग्रेसले आजको देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्नेछ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले भनेको छ, ‘सामाजिक संजालमा ब्यक्त मतलाई सरकारी आवेगले कार्वाहीको दायरामा बांध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी हो । यसविरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस संजाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वान समेत गर्दछ ।’

कम्युनिस्ट सरकारले सामाजिक सञ्जाल नियमन गर्ने बहानामा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित हुने गरेर कानून ल्याउन थालेपछि कांग्रेसले विरोध जनाएको छ ।

सरकारको यो हर्कतको चौतर्फी विरोध शुरु भएको छ । कांग्रेसको विरोधपछि ओली नेतृत्वको कामचलाउ कम्युनिस्ट सरकारलाई तनाब भएको छ । कमजोर भएको ओली सरकारले कांग्रेसको विरोधले झन् कमजोर भएको छ ।

Published : Monday, 2021 February 15, 9:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया