कम्युनिस्ट सरकारविरुद्ध सोमबार घरघरबाट आन्दोलनमा सहभागी हुन कांग्रेसको अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन ३ गते सोमबार देशभरि हुन लागेको सरकार विरोधी प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् ।

देउवाले आइतबार अपील जारी गरेर संसद विघटन गर्ने केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधमा सडकमा उत्रिन आह्वान गरेका हुन् ।

‘केपी ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपील गर्दछु’, देउवाले भनेका छन् ।

‘सोमबारको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु’, देउवाले भनेका छन् ।

‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ’, उनले भने, ‘पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले सोमबार देशभरि ओली र नेकपा नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्दैछ ।

Published : Sunday, 2021 February 14, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया