भागरथी प्रकरणमा कम्युनिस्टले गर्न नसकेको काम कांग्रेसले गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आइतबार भागरथीका आफन्तसंग भेटघाट गरेका छन् ।

कांग्रेस नेता लेखक भागरथी हत्याको विषयमा सत्यतथ्य बुझ्न बैतडी पुगेका छन् । भागरथीको चडेपानीस्थित घरमै पुगेर लेखकले परिवारजनसंग भेटघाट गरेको उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।

कांग्रेसले भागरथी हत्याका विषयमा सत्यतथ्य बुझ्न कांग्रेस केन्द्रीय सदस्य लेखकलाई बैतडी खटाएको थियो ।

शनिबार कांग्रेसका नेताहरूसंग छलफल गरेका नेता लेखकले आइतबार मृतकका आफन्तहरूसंग भेटघाट गरेका हुन् ।

नेता लेखकले भागरथीका बलात्कारी र हत्यारा पत्ता लगाउन कांग्रेसले सबै पक्षबाट सहयोग गर्ने बताए । ‘भागरथीका हत्यारा पत्ता लगाउन कांग्रेसले सम्पूर्ण सहयोग गर्छौं’, उनले भने, ‘राज्य पक्षलाई पनि हामीले दोषी छिटो पत्ता लगाई कारवाही गर्न आग्रह गरेका छौं ।’

भागरथीका हत्यारा पत्ता लगाउने कार्य सबैको प्राथमिकतामा रहेको बताउँदै नेता लेखकले महिलामाथि हुने जुनसुकै प्रकारका हिंसाविरुद्ध कांग्रेस लागिपरेको बताए ।

उनले भने, ‘अहिलेको प्राथमिकता भागरथीका हत्यारा पत्ता लगाउनु हो । कांग्रेसले सक्दो सहयोग गर्नेछ ।’

नेता लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहेका सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीसंग अनुसन्धानका बारेमा जानकारी समेत लिएका छन् ।

लेखकले अनुसन्धानमा ढिलाई नगरी छिटो दोषी पत्ता लगाउन प्रहरीसंग आग्रह गरेका छन् ।

नेता लेखकले भागरथीका आफन्तसंग भेटघाट गरेपछि घटनाको विषयमा कांग्रेसको केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउनेछन् ।

यसैबीच, कांग्रेसले मृतक भागरथीका आमा द्रोपती भट्टलाई दुई लाख नगद सहयोग प्रदान गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले पठाएको सहयोग रकम नेता लेखकले मृतकका आमालाई हस्तान्तरण गरेका हुन् ।

मृतककी आमालाई केही सहयोग पुगोस् भनेर कांग्रेसका तर्फबाट सहयोग गरिएको नेता लेखकले बताएका छन् ।

कम्युनिस्टहरूले सत्ता र व्यक्तिगत स्वार्थका लागि सडकमा उत्पात मच्चाइरहेका बेला कांग्रेसले भागरथीका आफन्तलाई नगद सहयोग गर्नुका साथै चहराइरहेको घाउमा मलहम लगाउने प्रयास गरेको छ । न्यायका लागि कम्युनिस्ट सरकारलाई दवाव दिएको छ ।

Published : Sunday, 2021 February 14, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया