बुधबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले फागुन ५ गते बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिए । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा १४औँ महाधिवेशनको तयारी, अहिलेसम्मको आन्दोलन, भावी रणनीतिका विषयमा छलफल हुनेछ ।

कांग्रेसले फागुनमा १४औँ महाधिवेशन गर्ने कार्यतालिका थियो । कार्यतालिकाअनुसार काम हुन सकेन । कांग्रेसको महाधिवेशन प्रभावित बनेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४औँ महाधिवेशनको माग गर्दै आएको छ । पौडेल समूहले शनिबार महारागजञ्जमा गुटको भेला समेत गरेको थियो ।

गुटको भेलामा पौडेल समूहले आफू निकटका जिल्ला सभापतिहरूको भेला बोलाउने निर्णय समेत गरेको छ ।

क्रियाशील सदस्यतालगायत १४औँ महाधिवेशनलगायतका विषयमा काम प्रभावकारी रुपमा अगाडि बढेको छैन ।

संसद भङ्ग भएपछि कांग्रेस कम्युनिस्ट सरकारविरुद्धको आन्दोलनमा छ । कांग्रेसले अबको आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि केन्द्रीय कार्यसमितिबाट निर्णय गर्नेछ ।

Published : Sunday, 2021 February 14, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया